जनता टाइम्स

४ भाद्र २०७६, बुधबार १३:४१

काठमाडौं आइपुगे भारतीय बिदेशमन्त्री जयशंकर : यस्तो छ दुई दिने नेपाल बसाईको तालिका


काठमाडौं, भदौं ४ । भारतीय विदेश मन्त्री शुव्रमण्यम जयशंकर (एस जयशंकर) काठमाडौं आइपुग्नु भएको छ । काठमाडौंमा आजबाट सुरु हुने नेपाल–भारत संयुक्त अयोगको बैठकमा सहभागी हुन भारतीय बिदेशमन्त्री जयशंकर आज दिउँसो काठमाडौं आइपुग्नु भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक सत्ता सम्हालेपछि बिदेश मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका जयशंकरको यो नै पहिलो बिदेश भ्रमण हो । भारतीय बिदेशमन्त्री जयशंकरले नेपाललाई आफ्नो पहिलो बिदेश भ्रमण बनाउनुभ एको हो । आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जयशंकर दिउँसो १२ बजे काठमाडौं आइपुग्नुभएको थियो । उहाँलाई परराष्ट्र सचिव शंकरदाश बैरागीले बिमानस्थलमा स्वागत गर्नुभएको थियो ।

उहाँले आजै अपराह्न काठमाडौंमा सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भारत पक्षको नेतृत्व गर्नुहुनेछ । संयुक्त आयोगको बैठकमा सहभागी हुनुअघि जयशंकरले आजै २ बजे प्रधानामन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटबार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यस लगत्तै उहाँ संयुक्त आयोगको बैठकमा सहभागी हुन होटल याक एण्ड यति जानुहुनेछ ।

संयुक्त आयोगको बैठकमा आज नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै विभिन्न एजेन्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजै साँझ रात्रीभोजको आयोजना गर्नुभएको छ । भारतीय बिदेशमन्त्री जयशंकरले भोलि बिहान साढे १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । दुई दिने भ्रमण सकेर भोलि अपरान्ह साढे ३ बजे उहाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।