जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार १७:२५

धरौटी बुझाएर छुटे सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन


काठमाडौं, १४ बैशाख । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेको एसपी रञ्जितसिंह राठौरले बताउनुभयो । उहाँले भन्नुभयो,‘उनले किन पहिले बुझाएनन् भन्ने थाहा भएन तर आज जम्मा गरेपछि अन्य मुद्दा नभएकाले छुटेका हुन् ।’

पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सीआईबीले जनाएको छ ।