जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार ०६:११

पारशबिरुद्ध हस्ताक्षर बुझाएको बदला लिन पर्यटनमन्त्री भट्टराईमाथि बिमानभित्रै पूर्वराजावादीको हमला


नेपालगञ्ज, भदौं २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेका एक समूहले गालीगलौज र दुब्र्यवहार गरेको छ । उनीहरुले मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दै ‘मन्त्रीलाई राम धुलाई’ गरेको भन्दै प्रचारसमेत गरेका छन ।

युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई अपशब्द प्रयोग गर्दै भिडियो खिचेको हो । पर्यटनमन्त्री भट्टराईले भने आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको भन्दै यात्रुलाई असुविधाप्रति क्षमायाचना गर्नुभएको छ ।

मन्त्रीका भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार मन्त्री भट्टराई शनिबार डलफिन महोत्सव कार्यक्रमका लागि कैलालीको टिकापुर पुगेका थिए । मन्त्री भट्टराईको शनिबार नै धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका थियो । तर, कैलालीको टिकापुरमा कार्यक्रम ढिलो भएपछि धनगढीको अन्तिम उडानबाट फर्किन सम्भव भएन ।

आज आइतबार प्रतिनिधिसभामा मन्त्रालयको बारेमा संसदहरुको उत्तर दिनुपर्ने कार्यतालिका रहेको कारण मन्त्रीलाई शनिबार नै काठमाडौं फर्किनु पर्ने दबाब थियो । त्यही कारण मन्त्री बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन धनगढीबाट नेपालगञ्ज जानुभयो । करिब ६ ः ३५ मा यात्रुहरुको बोर्डिङ्ग भएको थियो । यात्रुहरुभन्दा १५ मिनेट ढिला गरी करिब ६ः५० तिर मन्त्री विमानस्थल पुग्नुभयो ।

‘जहाज साढे ६ बजे नेपालगञ्ज ल्यान्ड भएको थियो। एयरलाइन्सका कर्मचारीहरूले हामीलाई त्यही सूचना दिएका थिए। मन्त्रीज्यूले हामीलाई जहाज छुटे होटलमै बसौंला भनिरहनुभएको थियो। हामी विमानस्थल पुग्दा ६ः५० भएको थियो। त्यसपछि जहाज उडेको हो,’ मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जनताटाइम्ससँग भन्नुभयो । नेपालगञ्ज विमानस्थल पुग्ने बित्तिकै ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको तीन चार जनाको समूहले तिव्र हो–हल्ला गरेका थिए । त्यो टोली मध्येका एकजनाले ‘पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ त्यो हामीले कहाँ बिर्सेका छौं र ?’ भन्दै अपशब्द प्रयोग गरेका थिए । उनीहरुले विमानमा नै मन्त्रीलाई ‘अब देखाइदिने’ चुनौती समेत दिएका थिए ।

यात्रुहरुका अनुसार ज्ञानेन्द्र शाही लगायत उनका समुहले ‘हामी त्यसै छोड्दैनौं’ भन्दै अपशब्द प्रयोग गरेका थिए । ज्ञानेन्द्र शाही लगायतका समूह पनि त्यही विमानबाट काठमाडौं फर्किन्दै थिए । मन्त्रीले विमानमा शाहीको उत्तेजित समूहलाई कुनै उत्तर दिनुभएन । गाली गलौज गरीरहदा समेत हाँसेरै बस्नुभयो । प्रहरीका अनुसार शाहीकै एक जना सहयोगीले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको थिए ।शाहीको समूह नेपालगञ्जमा एक बिरोधसभा गर्न पुगेका थिए । त्यो सभामा पनि शाहीले सरकार र गणतन्त्रको तिव्र बिरोध गरेका थिए । विमानमा समेत ज्ञानेन्द्र शाहीले मन्त्रीलाई दुव्र्यवहारका लागि अन्य यात्रुहरुलाई समेत हौसाएका थिए ।

शाहीले पछिल्लो समयमा सरकार, गणतन्त्र संघीयता र धर्मनिरपेक्षताको तिब्र बिरोध गर्दै आएका छन् । शाहीले गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई ‘दलाल र कुकुर’ गाली गरेका थिए । उनी साइबर अपराधमा जेठ १५ गते सुर्खेतबाट समातिएका थिए । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्डलाई जेल हाल्ने धम्की दिदै आएका छन् ।

क्षमाप्रार्थी छु : मन्त्री भट्टराई

मन्त्री भट्टराईले नेपालगञ्जबाट काठमाडौं आउने क्रममा आफ्नो कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमा माग्नुभएको छ ।

यस्तो छ, प्रतिक्रिया

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३र४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् रु त्यो हामीले कहाँ बिर्सेंका छौ र रु सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु ।’ मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।