जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १०:५९

१०१ वर्ष पुग्नु भएका राष्ट्रकविलाई प्रधानमन्त्रीको शुभकामना


काठमाडौं, असोज ७

राष्ट्रकवि माधवप्रसाद घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गर्नुभएको छ । १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिनु भएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गर्नुभएको हो ।

उहाको जन्मदिनको अवसर पारेर हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनु भएको थियो । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज घिमिरेलाई जन्मदिनको शुभकामना दिनु भएको छ । उहाले सुस्वास्थ्य र दीर्घायुको कामना समेत गर्नुभएको छ ।

‘१०१ औं जन्मदिवसका अवसरमा काव्यसाधक तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूमा हार्दिक बधाई ज्ञापन गर्दछु । नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् । सुस्वास्थ्य र दीर्घायुको मङ्गलमय शुभकामना ।’, प्रधानमन्त्रीले दिनु भएको शुभकामना सन्देशमा भनिएको छ ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिनुहुन्छ । उहाले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरूमा सिर्जना दिँदै आईरहनु भएको छ ।