मूख्य समाचारविचार / ब्लगसमाचारसमाज

घनश्यामजीलाई जसरी पनि केपी र माधव कमरेडलाई बोलाउनुस भनेको थिएँ, तर..

मैले घनश्यामजीलाई भनेको थिएँ । आजको कार्यक्रम धेरै महत्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ । तर, कमरेडहरुले प्रधानमन्त्री र माधव कमरेड आउन नसकेको जानकारी दिनुभयो : पुष्पकमल दाहाल, प्रचण्ड

काठमाडौं, बैशाख २२

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक रहेको बताउनु भएको छ । मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका लागि सचेत धक्का जरुरी पर्ने बताउनु भएको हो ।

‘पूँजीको विकास हुँदैमा समाजवाद आउँदैन । दलाल नोकरशाही पूँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन । चीनले हामी अझै समाजवादको प्रारम्भमा छौं भनिरहेको छ । समाजवादका लागि सचेत धक्का चाहिन्छ । हामीले त्यसकै लागि काम गर्नुपर्छ । हामीमा विचार र संगठनमा गति चाहिन्छ, विकास चाहिन्छ, राष्ट्रिय पूँजीको विकास चाहिन्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

यस्तो छसम्बोधनको मूल अंश

मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ । आजको कार्यक्रम धेरै महत्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ । तर, कमरेडहरुले प्रधानमन्त्री र माधव कमरेड आउन नसकेको जानकारी दिनुभयो । सचिवालयका २ जना स्थायी समितिका धेरै र केन्द्रीय समितिका अधिकांश नेता हुनुहुन्छ ।

म भन्दा अघि झलनाथ कमरेडले धेरै गम्भिर ढंगले आफ्ना कुरा राख्नुभएको छ । उहाँले मार्क्सवादको आलोकमा वर्गसङ्घर्षको अनुभव, मार्क्सवादका शिक्षा, भौतिकवाद, द्धन्द्धवाद लगायतका विषयमा आफ्नो प्रवचनात्मक मन्तव्य राख्नुभएको छ । यसका साथै उहाँले विश्वभरिका क्रान्ति र प्रतिक्रान्तिका अनुभव, रुसी क्रान्ति, चिनियाँ क्रान्ति र प्रतिक्रान्तिबारे पनि गहन विचार राख्नुभएको छ । उहाँले गहन र राम्रो भाषण गर्नुभएको छ, यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु ।

कार्ल मार्क्सकै योगदानका कारण वैज्ञानिक समाजवादको विकास भयो,श्रमजीवीका लागि नयाँ युगको सुत्रपात भयो । विश्वमा ठूलठूला क्रान्ति भए । हामी कार्ल मार्क्स जन्मिएको २०० वर्ष मनाउँदैछौं । मानव जातिको इतिहासमा कार्ल मार्क्सको निकै ठूलो योगदान रहेको छ । मानव जातिले कार्लमार्क्सलाई १००० वर्षयताकै महान व्यक्ति, महान् दार्शनिक ठान्छ, जसका विचारले संसारलाई नै प्रभावित गर्यो । आजसम्म त्यसको वैज्ञानिक खण्डन कसैले गर्न सकेको छैन । सर्वहारा वर्गले मात्र होइन, उहाँलाई पूँजीवादी शिविर र दुनियाँले मानेको छ ।

मार्क्सका सिद्धान्त सार्वभौम छन् । वैज्ञानिक समाजवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, उत्पादन सम्बन्ध सम्बन्धि मार्क्सको खोज र व्याख्यालाई कसैले वैज्ञानिक रुपले खण्डन गर्न सकेको छैन । तर, २०० वर्षको अवधिमा सर्वहारा वर्गले धेरै ठूला उतारचढाव बेहोर्यो । यसका बारेमा तपाईहरुलाई धेरैथोरै जानकारी छ । विश्व सर्वहारा वर्गले धेरै ठूला घुम्ती र मोडहरु छिचोलेर यहाँसम्म आइपुगेको छ ।

हामी सुरुमा थोरै मानिस थियौं । सत्ता प्रतिक्रियावादी वर्गको हातमा थियो । संगठन सानो थियो, जनआधार पनि सानै संख्यामा थियो । तर, हामी अति धेरै आत्मविश्वासी थियौं । जनताप्रति समर्पित थियौं । २००६ सालमा पार्टी स्थापना गर्दा होस् वा रुस चीनको बहसमा नेपालको अन्तरविरोधको कुरा होस्, झापा विद्रोहको बेला होस् वा जनयुद्धको बेला, हामी निकै संकल्पवद्ध थियौं ।

झापा विद्रोह वा केन्द्रीय न्युक्लियस हुँदा पनि हामी संकल्पवद्ध थियौं । त्यो बेला हामीमा निकै ठूलो उर्जा थियो । थोरै युवानहरुले पञ्चायती कालारात्री उल्टाउन लागेका थियौं । वर्गसङ्घर्ष गर्ने हो, हतियार उठाउने हो भन्ने आत्मविश्वास थियो । त्यसमा ठूलो संकल्प थियो । हामी निकै ठूलो विचित्र सपना देख्थ्यौं । घरको सबै बेचेर, गोरु भैंसी बेचेर पार्टीलाई बुझाइन्थ्यो । रातभरि मिटिङ गर्थ्यौं । हामी हप्तौं सुत्दैनथ्यौं । रातभरि संगठन र संघर्षको काम गर्थ्यौं । त्यसमा छुट्टै उर्जा र गौरव थियो ।

हामी थोरै पूर्णकालीन कार्यकर्ता थियौं । हामी दलित बस्तीमा जाँदा गौरवको अनुभूति हुन्थ्यो । अन्तरजातीय विवाह गराउँदा गौरव हुन्थ्यो । झुपडीमा जाँद बेग्लै आनन्द आउँथ्यो । असीम त्यागको अनुभूति हुन्थ्यो । अहिले हामी लाखौं कार्यकर्ता छौं । ठूलो शक्ति पनि छौं । तर, हिजोको निष्ठा कता छ, हामी कता छौं ? अहिले सोच्दा विचित्र लाग्छ । हिजो थोरै हुँदा दुनियाँ बदल्छौं भन्ने मनोबल अहिले कता पुग्यो ? यति ठूलो पार्टी हुँदा पनि हामी किन एक्लो महशुस गर्दैछौं?
हिजो पश्चिमको साथी पूर्व जाँदा हार्दिकता हुन्थ्यो । कसिलो हात मिलाइन्थ्यो । हृदयदेखि भावना जागृत हुन्थ्यो । आफ्नोपनको अनुभूति हुन्थ्यो । हामीले जतिसुकै ठूला दुखकष्ट र चुनौति बिर्सन्थ्यौं । तर, अहिले किन त्यस्तो हुँदैन? हिजो जङ्गलमा सुतियो । तर, जङ्गलको अनुभूति भएन । हामी जङ्गलमा भएजस्तो अनुभूति पनि भएन । तर, अहिले काठमाडौंमा लाखौंको बीचमा हुँदा एक्लै भएको महशुस हुन थालेको छ । अहिले के विचित्र भइराखेको छ ?

हामी ६-७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पूँजीवाद परास्त गर्न सक्छौं । तर, हामी हिम्मत हार्दैछौं । किन एक्ला भएका छौं? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं ? हामीले संकल्प र समीक्षा गर्ने यही हो । हामीले मार्क्सबाट सिक्ने यहीँनेर हो । कार्लमार्क्सले जिन्दगीभर सङ्घर्ष गर्नुभयो । त्यहाँ गाडी थिएन, घर थिएन । जिन्दगीभर दुखकष्टको जिन्दगी बिताउनुभयो । हामीसँग अहिले घर छ, गाडी छ । तर, कता हरायौं, हाम्रो उर्जा र संकल्प कहाँ गयो ? हाम्रो गल्ती यहीँनेर छ । समीक्षा यही गर्नुपर्छ ।

हाम्रो आदर्श के हो ? हिजो जेल बस्दा आत्मसमर्पणका लागि २ शब्द नलेख्ने, तर आज कता गयौं? किन यति छिटै गलेका छौं ? यसको खोजी गर्नुपर्छ । तर, खोजी कल्पनामा होइन, यथार्थमा उभिएर गर्नुपर्छ । हाम्रो वस्तुगत धरातलमा उभिएर गर्नुपर्छ । मैले एकतापछि केही गम्भिर कुरा सोचेको छु । नेपालमा ठूलो बहस र छलफलको आवश्यकता छ । बहस र छलफलबिना विचारको विकास गर्न सकिँदैन । हामीले एउटा सांस्कृतिक क्रान्तिको घोषणा गर्नुपर्छ । नयाँ बहसको आवश्यकता छ, एउटा अभियानको घोषणा गर्न जरुरी छ ।

मेरो आलोचना होस्, म सधैं तयार छु । म आलोचनालाई स्वागत गर्छु ।तर, यथार्थमा उभिएको हुनुपर्छ । भ्रामक होइन, यथार्थ आलोचना होस् । म सधैं श्रमजीवी वर्गको पार्टी बनाउन संकल्पवद्ध छु, त्यसका लाग आलोचना सुन्न र सच्चिन तयार छु । लेनिनले साम्राज्यवादी युगमा सर्वहारा वर्गको एक मात्र हतियार संगठन हो, सर्वहारा वर्गसँग संगठन चाहिन्छ भन्नुभएको छ । हामीलाई एउटा परिस्कृत र परिमार्जित पार्टी चाहिएको छ । हामीलाई क्रान्ति र प्रतिक्रिान्तिका अनुभवसहितको विचार चाहिएको छ, कार्यशैली चाहिएको छ, संगठनचाहिएको छ ।समाजवादको यात्रामा अघि बढ्ने पार्टी चाहिएको छ ।

महान बहसबाट मात्र सही विचार आउँछ । सही विचार वर्गसङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछ । सही विचार विद्धानले मात्र ल्याउने होइन । मार्क्सले नगरेको भए सर्वहारा विचारको विकास अरु कसैले गर्थ्यो । त्यो कुरा मार्क्सले नै भन्नुभएको छ । वस्तुगत परिस्थितिले त्यो अवस्था आयो, मार्क्सवादको विकास भयो । तर, मार्क्सजस्तो विलक्षण प्रतिभाको विद्धान र दार्शनिक नभएको भए मार्क्सवाद जन्मन अझै धेरै समय लाग्न सक्थ्यो ।हाम्रो सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ । हामी २१ औं शताब्दीमा छौं । यो पार्टीले २१ शताब्दीको विचार र संगठनात्मक सिद्धान्त दिन सक्नुपर्छ । हामीले यो कार्यभार पूरा गर्नैपर्छ, हामीले पार्टीमाथि, जनतामाथि भरोसा गर्नैपर्छ ।

मार्क्सवाद कुनै जमेको पोखरीको पानीजस्तो होइन । मार्क्सवादले वैज्ञानिक प्रयोग मान्छ । खुरुखुरु सुत्रले यो हुँदैन, बहस र प्रयोगमा जानुपर्छ । मार्क्सले आफ्नै जीवनमा त्यो प्रयोग गर्नुभएको छ । कम्युनिष्ट अन्तर्राष्ट्रिय बनाउने र भत्काउने, पार्टी बनाउने र बिघटन गर्ने प्रयोग उहाँले नै गर्नुभयो । तर, हामीकहाँ नयाँ प्रयोग गर्दा अस्थिरको आरोप लाग्छ । हामीले समयअनुसार कदम चाल्नुपर्छ । परिस्थितिअनुसार कदम चाल्ने नेता अस्थिर होइन, गतिशील हो । हामीले पोखरीको पानी भत्काउनुपर्छ । मलाई त्यो पोखरी भत्काएर गड्गडाउने खोलो बनाउन मन लाग्छ ।

मैले विश्वका कम्युनिष्ट आन्दोलन जति पढें, क्रान्ति र प्रतिक्रान्तिका अनुभव जति पढें, बुझें, त्यहाँबाट सिकेको त्यही हो । म सानो समहूको महासचिव थिए । मैले त्यही पार्टी भत्काएँ । मलाई मेरै पार्टी भत्काउन मन लाग्यो । सानो नाङ्लो पसल थापेर हुँदैन भन्ने लाग्यो । मैले पार्टी भत्काउन थालें । नयाँ पार्टी बनाउने कोशिस गरें ।मैले नै ध्रुवीकरणको प्रक्रिया सुरु गरेको थिएँ ।

हामीले ध्रुवीकरणको सोंच त्यतिमै सीमित राखेका थिएनौं । म र मदन भण्डारीबीच पार्टी एकताबारे कुरा गर्ने सल्लाह भयो । तर, त्यो दिन आएन । बीचमै मदन भण्डारीको अवसान भयो । तर, पर्खिदै गएर हामी यहाँ आयौं । अहिले २ शक्तिशाली पार्टीबीच एकता भएको छ । मदन भण्डारीको अवसानपछि हामी २ वटा प्रयोगमा गयौं । शान्तिपूर्ण राजनीतिलाई जनतासँग जोड्ने मदन भण्डारीको प्रयोग थियो । अर्को प्रयोग मेरो नेतृत्वमा जनयुद्ध भयो ।

केही वर्ष त एकले अर्कालाई निषेध गर्न नखोजेको होइन । केही वर्ष शत्रुतापूर्ण सङ्घर्ष पनि भयो । तर, यो वैज्ञानिक सावित भएन ।परिस्थितिले दुवै कम्युनिट पार्टी मिल्नु नै राम्रो बनायो । जनताले पनि हामीलाई मिल्न आदेश दिए । हाम्रो बीचमा धेरै अन्तरक्रिया र बहसहरु भए । जनयुद्धकै बेला पनि हाम्रोबीचमा ठूलो बहस सुरु भएको थियो । हामीमा नयाँ परिस्थिति पैदा भयो । हामीले एकताका लागि गहन छलफल र बहस गर्यौं।

विश्वमा क्रान्तिका २ मोडेल छन् । विश्वमा धेरै सशस्त्र सङ्घर्ष पराजित भएका छन्, तिनले कुनै पनि प्रणाली परिवर्तन गर्न सकेनन् । विश्वमा केही सफल क्रान्ति छन्, जसले पूरै सत्ता उल्टायो । विश्वमा २ मोडल र परिणाम मात्र छन् ।मलाई पछिल्लो समय के महशुस भयो भने सशस्त्र क्रान्तिबाट जाँदा हामीले पनि उपलब्धि रक्षा गर्न नसक्ने परिस्थितिमा जान्छौं । त्यही विश्लेषणका कारण पूरै सत्ता कब्जा गर्ने भने पनि हामीले शान्ति र लोकतन्त्रको बाटो लियौं । प्राप्त उपलब्धिको रक्षा गर्ने बाटो रोज्यौं ।

यो पनि आफैंमा जोखिम थियो । त्यहाँ सजिलो थिएन । युद्धका जोखिम जति थिए, प्राप्त उपलब्धि जोगाउन शान्ति र लोकतन्त्रको मार्ग हिँडाउनु पनि त्यत्तिकै जोखिम थियो । त्यसका लागि बलियो नीति र नेतृत्व चाहिन्थ्यो ।वैज्ञानिक विचार र कुशल नेतृत्वका कारण सफल भयो । हामीले पूरै युटर्न गर्न सकेका कारण यहाँ आयौं । आन्दोलनमा सर्वस्वीकार्य नेतृत्व नभई यो सम्भव हुने कुरा होइन ।

पार्टी एकता ठूलो काम हो, ऐतिहासिक काम हो, असाधारण काम हो । २ अलग बाटोमा हिडेका पार्टी एक ठाउँमा ल्याउनु सामान्य कुरा होइन । मार्क्सवादका शिक्षालाई ठीक ढंगले नबुझी यो सम्भव थिएन । हामीले यो ठूलो प्रयोग ग¥यौं । हामी त्यसमा सफल भयौं । एकताको प्रस्तावकका नाताले ममा गर्व छ, एमाले र माओवादीका रुपमा हामीले चुनावी प्रतिस्पर्धा पनि गर्यौं, हामीले जित्यौं पनि, हार्यौं पनि । हामी दुवै पार्टीमा जीत र हारको अनुभव भयो । त्यसले एक ठाउँमा आउन बल मिल्यो । हामीमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनबाट अगाडि बेढेर संविधान दिने, समाजवादको यात्रामा अघि बढ्ने कुरा सामान्य कुरा होइन ।

नेकपा एमालेको नवौं महाधिवेशन र एकीकृत नेकपा माओवादीको हेटौंडा महाधिवेशनबाट पनि समाजवादी क्राज्तिमा जाने निष्कर्ष निस्कियो, पार्टी एकताको आधार त्यो पनि हो । त्यो वैचारिक आधारले नै हामीलाई नजिक ल्यायो । संविधानका अन्तर्वस्तु र समाजवादको अवधारणामा समान सोंच भएकाले नै हामीलाई यहाँ ल्यायो । नेताहरुको चाहनाले मात्र पनि भएको होइन । तर, यसमा नेताहरुको आँट पनि छ । हामीले फेरि पनि पूराना पार्टीहरु भत्काएका छौं । एमालेका रुपमा र माओवादीका रुपमा जमेको पोखरी हामीले भत्काएका छौं । गड्गडाएर अघि बढ्ने मान्यताबाट यो एकता भएको हो ।

सानो बहसको नजिता पनि सानै हुन्छ । तर, ठूलो बहसले ठूलै परिणाम दिन्छ । सानो पोखरीमा पौडी खेल्ने कि ठूलो पोखरीमा ? ठूलो बहसले मात्र ठूलो परिणाम दिन्छ । हामी समाजवादमा जानुछ, त्यसका लागि महान् विचार, ठूलो संगठन चाहिन्छ । त्यही संकल्पका साथ एकता गरिएको हो । कतिपय साथीहरुले वैचारिक बहस नगरेर एकता गर्न हुँदैन भन्नुभएको थियो । तर, हामीले हिजोकै मान्यतामा बहस गरेको भए एकता हुने थिएन । हामीले शान्तिपूर्ण रुपमा समाजवादमा जाने संकल्पका आधारमा एकता गरेका हौं । बाँकी कुरा बहस हुँदै जान्छ, निष्कर्षमा पुग्दै जान्छ ।

राम्रै काममा जानुछ भने हामफाल्नुपर्छ । मुल कुरा ठीक लागेपछि हामफाल्नु नै राम्रो हो, त्यहीबाट नै सबै कुराको छिनोफानो हुन्छ । सबै कुरा बन्दै जान्छ । हामीले एकदमै ठीक गरेका छौं । हामीले अस्तिसम्म आउँदा एकता टुंगाएका छौं । फलामे ढोका फोरेका छौं । बाँकी काम १/२ दिनमा टुगाउँछौं । जनसंगठन र कार्यविभाजनको काम छिटै टुंगिन्छ । त्यसपछि हामी हामी तुरुन्तै अधिवेशनमा जान्छौं ।

अब युद्ध स्तरमा अधिवेशन हुन्छ । त्यो बहसमा जानु पनि हो । हामीमा धेरै कन्फ्युजन छैन । विचारमा अहिले एउटा कुरा नै मूख्य हो । हामी समाजवादी कित्तामा कि पूँजीवादमा ? हाम्रो बहस यहीँनेर हो । अरु धेरै कुरा छैन । अहिले नै समाजवादको आधार बनेको छैन । पूँजीको विकासविना अहिल्यै समाजवाद बन्दैन । त्यसका लागि हामीले सङ्घर्ष गर्नुछ । हामीले उत्पादक शक्तिको विकास गर्ने, राष्ट्रिय पूँजीको विकास गर्नेतिर जानुपर्छ । हामीले विकास र रोजगारी सिजर्ना गर्नुपर्छ । त्यसले मात्रै समाजवादको जग बसाल्न सकिन्छ ।

पूँजीको विकास हुँदैमा समाजवाद आउँदैन । दलाल नोकशाही पूँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन । चीनले हामी अझै समाजवादको प्रारम्भमा छौं भनिरहेको छ । समाजवादका लागि सचेत धक्का चाहिन्छ । हामीले त्यसकै लागि काम गर्नुपर्छ । हामीमा विचार र संगठनमा गति चाहिन्छ, विकास चाहिन्छ, राष्ट्रिय पूँजीको विकास चाहिन्छ । पार्टीमा कमरेडली व्यवहार चाहिन्छ । त्यता लैजानुछ । हामीले कमरेड बनाउँछौं । कम्युनिष्ट पार्टीमा बदमास थोरै हुन्छन् । तर, हामीमा समस्या छ । त्यसको समाधान खोज्नुपर्छ ।

अब हामीले महान् बहस सुरु गर्नुपर्छ । सम्पूर्ण करेडहरु यो बहसमा जानुपर्छ । हामीले महान विचार निर्माण गर्नुछ, समाजवादी संस्कृति निर्माण गर्नुछ । हामी दुनियाँमा सबैभन्दा आक्रमक छौं । नयाँ विचार, नयाँ कार्यदिशा दिने हामीले नै हो । अहिले नै अरुबाट आशा गरेर हुँदैन । हामीले गर्न सकेनौं भने दुनियाँमा ५० वर्ष अर्को क्रान्ति हुँदैन । विश्वलाई नयाँ विचार र कार्यदिशा दिने रणनीतिक उद्देश्यसहित पार्टी एकता गरिएको हो । सरकार कब्जा गर्न र प्रधानमन्त्री हुन एकता गरिएको होइन ।

हामीले संसारभरिका श्रमजीवीलाई नयाँ सन्देश दिन एकता गरिएको हो । पार्टी एकता महान चीज हो । तर, यो आरामसाथ अघि बढ्दैन । पार्टी एकता महान विवाद, महान सङ्घर्षको सुरुवात पनि हो । यो सजिलो कुरा पनि होइन । हामीले नयाँ सङ्कल्प गर्नैपर्छ । त्यसका लागि तयार हुन म सबै कमरेडहरुलाई अपील गर्न चाहन्छु । म फेरि एकपटक सम्पूर्ण त्याग गरेर सङ्घर्षमा होमिन तयार छु । मलाई कुनै कठिनाई छैन । तर, म एक्लै हिँडेर मात्र पनि हुँदैन । त्यसका लागि तपाईहरुको साथ चाहिन्छ ।

Comment here

%MINIFYHTMLcfb90247a8b6e43dcf49313f95306dc411%