जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार ०७:५१

फणी आँधीले लियो ४२ को ज्यान, भारतमा मात्रै २९ जनाको मृत्यु


नयाँदिल्ली, बैशाख २३

भारत र बंलादेशको तटीय क्षेत्रमा फणी नाम दिइएको आँधीका कारण आइतबारसम्म ४२ जनाको मृत्यु भएको छ। आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा १३ जनाको मृत्यु भएको दुबै देशका अधिकारीले जानकारी दिएका छन्।

भारतको उडिसाबाट शुक्रबार सुरु भएको यो आँधी प्रतिघण्टा २०० किलोमिटरसम्मको बेगमा चलेको थियो। तर बंगलादेशतर्फ पुग्दा नपुग्दा आँधीको बेग केही मत्थर भएको मौसम विज्ञान अधिकारीले जनाएका छन् ।अधिकारीले हिन्दु धार्मिक स्थल पुरीमा मात्र २१ जनाको ज्यान गएको बताएका छन्। उडिसाका विशेष राहत आयुक्त विष्णुपादा सेठीले सञ्चार सम्पर्क नराम्रोसँग क्षति भएका कारण मृतकको पहिचान गर्न कठिनाइ भइरहेको जानकारी दिए।

आँधीका कारण भारतको उडिसामा १२ लाख र बंलादेशमा १६ लाख व्यक्ति अस्थायी शिविरमा पुगेका छन्। बंलादेशमा कम्तीमा ३६ गाउँमा बाढी आएको र बाढीका परी दुई हजारभन्दा बढी घर ध्वस्त भएको छ। अधिकारीहरुका अनुसार ६ जनाको रुख र पर्खाल ढलेर मृत्यु भएको छ भने अन्य ६ जनाको चट्याङका कारण मृत्यु भएको छ ।

टेलिभिजनले तटीय क्षेत्रमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन्। बंगलादेशी अधिकारीले दशौं हजार मानिसलाई सुरक्षितस्थलमा पुर्‍याएका छन्। सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डब मच्चाउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए।