जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार १५:०४

अपराध गर्नेबिरुद्ध कठोर बन्यो ओली सरकार, बिमानस्थलबाटै समातिए संघीय संसदका अर्का सांसद


काठमाडौं, असोज २८ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद साह पक्राउ परेका छन । बुद्ध एयरको जनकपुर बिमानस्थलस्थित टिकट काउन्टर तोडफोड गरेको अभियोगमा मुद्दा चलाउन प्रतिनिधिसभाका सांसद साहलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न पत्र काटेको केही घण्टामै सांसद साहलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन ।

सांसद साह पक्राउ परेको धनुषाका प्रहरी प्रमुख शेखर खनालले पुष्टि गर्नुभयो । सांसद साहले पनि आफू पक्राउ परेको जानकारी फेसबुकमार्फत दिएका छन । जहाज डिले भएको झोकमा साहले हिजो जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । साहलाई पक्राउ गर्न आज बिहान मात्रै जिल्ला प्रहरी कार्यालय धनुषाले पत्र काटेको थियो । काठमाडौंमा रहेका सांसद साहलाई पक्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई पत्र लेखेको हो । ‘गैर सैनिक हवाइ उडान २०१५ अन्तर्गत सांसद साहमाथि उजुरी परेको छ । ‘उजुरी दर्ता गरेर उनलाई पक्राउ गरिएको हो, धनुषाका एसपी खनालले भन्नुभयो ।

फ्लाइट डिले भएको बहाना बनाउँदै उदण्ड रुपमा प्रस्तुत हुने साह सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन । सांसद साहले हिजो बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक बिरामीलाई समस्या बढ्न थालेपछि आफू आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको स्वीकार गरेका छन । यता, बुद्ध एयरको काउण्टर तोडफोड गरेपछि सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान प्रवेशमै रोक लगाएको थियो । तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाएका थिए ।

‘जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरी किड्नी विरामी रहेछन् । उनलाई दिउसो २ बजेसम्ममा चिकित्सककहाँ पुगेर चेकजाच गराउनुपर्ने थियो । तर, विमान आउन निकै ढिला भइरहेको थियो । त्यही आवेगमा आएपछि मैले तोडफोड गरेको हुँ,’ कुनै आत्मग्लानी नदखाई सांसद साहले भने । बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको बताउँदा पनि उनी तोडफोडमा उत्रिएका हुन । ‘हामीले यो विषयमा यात्रुहरुलाई जानकारी पनि गराएका थियौँ । तर, सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टरमा तोडफोड गर्न थाल्नुभयो । हाम्रा कर्मचारीसँग दुर्व्यवहार पनि गर्नुभयो,’ सिंहले भने ।

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो । वायुसेवा संचालक संघ, नेपालले भने बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साहलाई कारवाही गर्न माग गर्दै अल्टिमेटम दिएको छ । प्रहरीमा उजुरी दर्ता भएपछि साहलाई पक्राउ गरिएको हो ।