जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार २०:०८

गण्डकीका मुख्यमन्त्री अधिकारीले बिश्वासको मत पाएको सभामुखको घोषणा, आफैले थापेको पासोमा पर्यो कांग्रेस


पोखरा, बैशाख २३ । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको छ ।

आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा मुख्यमन्त्री अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो । सभामुख धितालको यो घोषणासँगै अधिकारी नेतृत्वको सरकारले बिश्वासको मत पाएको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।

आवश्यक अवस्थामा आफूलाई पनि मत हाल्न पाउने अधिकार रहेको बताउँदै सभामुख धितालले राजनीतिक हिसाबमा एमाले–माओवादीकै चाहना अनुसार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो । सभामुख धितालले आफूले मत नहाले पनि माओवादीबाटै निर्वाचित भएको कारण बहुमत रहेको निर्णय लिनुभएको हो ।

मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा एमालेका २२, माओवादीका ७ र दीपक मनाङे गरी ३० जनाले समर्थन जनाउनु भएको थियो । त्यसमा आफू पनि निर्णायक बनेर सभामुखले अधिकारीलाई मत दिलाउनु भएको हो । मतदानमा नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे भने राप्रपाका २ जना तटस्थ बसेका थिए ।

सभामुखले ३० लाई नै बहुमत मानेर विश्वासको मत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेस सांसदले नाराबाजी गरेका छन् । सभामुखले असंवैधानिक रुपमा ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनालाई बहुमत मानेर विश्वासको मत दिलाएको भन्दै कांग्रेसले फेरि सर्वोच्च जाने चेतावनीसमेत दिएको छ । कांग्रेस यसअघि नै मुख्यमन्त्रीको नियुक्ति नै बदरको माग गर्दै सर्वाेच्च गएको थियो । तर अदालतले बिपक्षमा फैसाला गरेको छ ।

गत चैत २५ गते सभामुख धिताललाई समेत गणना गरेर मुख्यमन्त्री नियुक्त भएका अधिकारीले विश्वासको मत लिँदा पनि सभामुखलाई प्रयोग गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ जना बहुमत पुग्नुपर्ने संवैधानिक व्यवस्था नै छ ।

संविधानको धारा १६८ (४) मा प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । तर, ६० सदस्यीय गण्डकी सभामा बराबर नै नहुने र ३० नै बहुमत हुने सत्तारुढ दलहरुको तर्कअनुसार सभामुख प्रयोग भएर अधिकारीलाई विश्वासको मत दिलाउनु भएको छ ।