जनता टाइम्स

२६ बैशाख २०८१, बुधबार १८:१६

सत्ता समिकरण आगामी चुनावसम्म रहन्छ : बिष्णु पौडेल


रामेछाप, २६ बैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले एकल बहुमत सहित सरकार बनाउने स्थानमा पुगे मात्रै संविधानको रक्षा र संविधानले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने बताउनुभएको छ ।

नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज मन्थलीमा सम्बोधन गर्दै पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने बताउनुभयो ।

‘संविधानको रक्षा, कार्यान्वयन र समाजवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा एमालेसँग जोडिएको छ, नेकपा एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको छ’, पौडेलले भन्नुभयो ।

पौडेलले दुनियाँका संविधानसँग नेपालको संविधान तुलना गर्दा उत्कृष्ट भएको बताउनुभयो । संविधान उत्कृष्ट बनाएर मात्र नपुग्ने बताउँदै पौडेलले संविधानको रक्षा र उचित कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । संविधानले निर्देशन गरेको दिशा तर्फ समाजलाई लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा एमालेलाई भित्तोमा पुर्‍याउने र माटोमा मिलाउने उद्घोषका साथ आक्रमण गरिएको भए पनि एमालेले त्यसलाई पराजित गरेको पौडेलले बताउनुभयो । २०८९ को निर्वाचन पछि नेकपा एमालेले राष्ट्रिय राजनीतिको निकासको लागि केही पहल गरेको उहाँले स्पष्ट पार्नुभयो ।

तर एमालेलाई दुई महिनाको बिचमा नै सरकाबाट हटाउने काम भएको उहाँले स्मरण गर्नुभयो । तर प्रधानमन्त्री पुष्पकमल दाहालले अनुभूत गरेर त्यो गठबन्धन भत्काएर नेकपा एमालेलगायत सम्मिलित सरकार बनेको उहाँले बताउनुभयो ।

अहिलेको नयॅा सत्ता समीकरणको न्यूनतम साझा सहमति बनेको र जनतामा आशा जगाउने काम भएको उहाँले बताउनुभयो । अहिले पनि यो सरकार भत्काउनको लागि विभिन्न कोसिस भइरहेको उहाँले सुनाउनुभयो ।

‘हामीले गुच्चा खेलिरहेका छैनौँ, यो सरकारविरुद्ध कस्ता षड्यन्त्र भइरहेका छन् भन्ने हामीलाई थाहा छ, ती षडयन्त्रलाई हामी एक-एक गरेर तोडेर अघि बढ्ने छौँ, यो सरकारलाई सकारात्मक हिसाबले काम गर्ने दिशामा अघि बढाइरहने छौँ’, उहाँले भन्नुभयो ।

यो सरकार विरुद्ध पनि खेल्ने विभिन्न खालका प्रयास भएका भन्दै उहाँले एक झड्कामा नै ती प्रयत्न टुटेका उहाँले बताउनुभयो । यो सरकार ताड्नु पर्छ भन्दै समीकरणमा नै रहेर भाषण गर्दै हिँड्नेहरू अहिले हामी यही सरकारमा रहन्छौँ भनेर विज्ञप्ति निकाल्ने तहमा पुगेका उहाँले सुनाउनुभयो ।

‘यो सरकार २०८४ सम्म रहन्छ, कसैले यो सरकार ढाल्न सक्दैन, यसको विकल्पमा अर्को सरकार बन्न सक्दैन’, उहाँले भन्नुभयो ।

उहाँले एमाले कांग्रेस मिलेर सरकार बनाउन नहुने बताउनुभयो । कांग्रेस र एमालेको एजेण्डा पनि नमिल्ने भएकोले कांग्रेसँग सहकार्य हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । ‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुन्छ, कांग्रेसले पनि प्रतिपक्षमा बसेर सिकोस्’, उहाँले भन्नुभयो ।

उहाँले २०८४ सम्म अहिलेकै सरकार जाने र २०८४ को निर्वाचन पछि नेकपा एमाले एकल बहुमतप्राप्त पार्टी बन्ने उहाँले बताउनुभयो ।

एमालेका नेता कार्यकर्तालाई प्रधानमन्त्री वा मन्त्री बनाउनको लागि मात्र नभई लोकतन्त्र, राष्ट्रियता र समृद्धिको यात्रा सफल बनाउनको लागि भएको उहाँको भनाइ छ ।

‘नेकपा एमालेको बहुमतको सरकार राष्ट्रको लागि चाहिएको छ, जनतालको लागि चाहिएको छ’, उहाँले भन्नुभयो ।