जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार २३:१६

नमज्जासँग चिप्लिए माधव नेपाल, तुहियो सपना


यसिमा महत/काठमाडौं । फेरि प्रधानमन्त्री बन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सपना तुहिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनबाट अलग भएर नेपाली कांग्रेसको गठबन्धनमा जान आँतुर बन्नुभएका माधवको सपना उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बिभाजित भएसँगै तुहिएको हो ।

सो दल बिभाजनले कांग्रेसको नेतृत्वमा बहुमत जुटने संभावना सकिएको छ । जसपाका कार्यबहाक अध्यक्ष राजेन्द्र श्रेष्ठ र बरिष्ठ नेता अशोक राईले आज निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता गराउनु भएको छ । अध्यक्ष उपेन्द्र यादव अमेरिकामै भएको बेलामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित बनेको हो ।

वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजित बनेको छ । नयाँ दलको नाम नेपाल हटाएर जनता समाजवादी मात्रै राख्ने गरी दर्ताको लागि निवेदन दिइएको हो । नयाँ दलमा प्रतिनिधिसभामा यम रहेका जसपाका १२ सांसदमध्ये ७ सांसद लागेका छन । बिभाजनतिर अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादव रहनुभएको छ ।

सत्ता गठबन्धनबाट अलग भएर आफू प्रधानमन्त्री बन्ने भन्दै उपेन्द्र यादवलाई मनाएर माधव नेपालको प्रधानमन्त्री बन्न गर्नुभएको मुभ र सत्ता समीकरण फेरबदलको प्रयाशका कारण जसपामा अकस्मात विभाजन आएको हो । उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीमै रहेर गठबन्धन फेर्ने र माधवलाई प्रधानमन्त्री बनाउने खेलमा अध्यक्ष उपेन्द्र यादव लागेको कारण अशोक राई पक्षधरले कदम चालेको बताएको छ । स्थिरताको पक्षमा आफूहरु रहेको कारण उपेन्द्रको अस्थिरता मच्चाउने योजनामा ब्रेक लगाउन यस्तो कदम चालिएको अशोक पक्षले बताएको छ ।

प्रतिनिधिसभामा १० सीट रहेका माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रनुभएको र यादव पनि षडयन्त्रमा सामेल भएको आरोप छ । सत्ता गठबन्धनको बिरुद्ध बनाउन लागिएको वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४–४ जोड्दा १३८ सांसदको गणित थियो । तर नेता राईको नेतृत्वमा ७ सांसदले पार्टी विभाजन गरेपछि त्यो सम्भावना तुहिएको छ । अब उपेन्द्र यादवसँग ५ सांसदमात्रै छन ।

जसपा विभाजन गर्ने राई एमाले पृष्ठभूमिका नेता हुनुहुन्छ । एमालेका पूर्वउपाध्यक्ष राईलाई धरानमा चुनाव जिताउन एमाले अध्यक्ष केपी शर्मा ओली आफैं खटिनुभएको थियो । वनमन्त्री तथा जसपा नेता नवलकिशोर साहले सरकार ढाल्ने सूचनापछि आफूहरुले कदम चालेको बताउनु भयो । ‘सरकारको स्थायित्वको लागि यो कदम चालेका हौं । स्थायी सरकार नभए देशको कल्याण हुन सक्दैन भन्ने निश्कर्षका आधारमा यो काम भयो, ’ साहले भन्नुभयो ।

नेपाली कांग्रेसले एमाले माओवादी गठबन्धन तोडेर प्रचण्ड सरकार ढाल्न माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले–माओवादी गठबन्धनलाई साथ दिने घोषणा नै गरेको छ । जसपामा भएको यो आकस्किम घटनाबाट माधव नेपाल मर्माहत हुनुभएको सोही दलका नेताहरुले बताएका छन ।