जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार ०८:५३

आलमको थुनछेक बहस आज, अमनाले गलत निवेदन दिएको खुलासा


रौतहट, कात्तिक २५

पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन साँझ रौतहटको राजपुर फरहदवामा भएको भनिएको बमकाण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता महम्मद आफताब आलममाथि थुनछेक बहस आज हुदैछ । वादीको तर्फबाट बहस शुक्रबार सकिएकाले आज प्रतिवादीको तर्फबाट बहस हुने भएको छ ।

वादीतर्फका अधिकांश अधिवक्ताहरूले अभियुक्त आलमलाई प्रहरी हिरासतमै राखी अनुसन्धान गर्नुपर्ने माग अदालतसमक्ष गरेका छन् । बिहीबार र शुक्रबार गरी वादीको तर्फबाट थुनछेक बहसमा १३ जना अधिवक्ताले भाग लिएका छन् ।

थुनछेक बहस नसकिएकाले आलम प्रहरी हिरासतमै रहने छन् । २०६४, २८ चैतमा सम्पन्न संविधान सभा निर्वाचनको अघिल्लो दिन बम विस्फोटमा परी केहीको मृत्यु भएको, केही गम्भीर घाइते भएको र मृतक तथा जिउँदै रहेका घाइतेसमेतलाई आलमले गाउँजनिकै रहेको इँटा उद्योगमा जलाएको आरोप रहेको छ ।

शक्तिमा रहेका आलमलाई तत्कालीन प्रहरी प्रशासनले प्रत्यक्ष सहयोग गरेको घटनाका प्रत्यक्षदर्शी भनिएकाहरूले बयान दिइसकेका छन् । घटनाको विषयमा मुख्य अभियुक्त आलमले इन्कारी बयान दिँदै आएका छन् । घटना हुँदै नभएको र आफूलाई फसाउने उद्देश्यले कपोलकल्पित घटनाको षड्यन्त्र रचिएको आलमको दाबी छ ।

यसैविच, घटनामा मारिएका भनिएका मोहम्मद ओसि अख्तरकी पत्नी अमना खातुनले २१ कात्तिकमा अदालतमा अख्तर २०६४ मा वैदेशिक रोजगारमा गएको र आजसम्म नफर्किएको भनि दिएको निवेदन गलत भएको पुष्टि भएको छ ।

अमना खातुनले अदालतमा पति वैदेशिक रोजगारीबाट नफर्किएको निवेदन दिए पनि उनैले दुई वर्ष पहिले पति अख्तरको मृत्यु दर्ता बनाएको खुलेको छ। ओसि अख्तरको मृत्यु दर्ता प्रमाण पत्रमा २७ चैत २०६४ मा रौतहटको राजपुर फरदहवा–४ मा उनको मृत्यु भएको उल्लेख छ। रौतहटको यमुना माई गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयले १६ असोज २०७४ मा जारी गरेको उक्त प्रमाणपत्रमा अमना खातुनले भरेको अनुसूची–३ को सूचना फारम बमोजिम अख्तरको मृत्यु भएको प्रमाणित गरिएको उल्लेख छ।