जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १६:०७

फेरि उही मुस्कानसहित यस्तो जोशका साथ अस्पतालबाट बालुवाटार फर्कनुभयो प्रधानमन्त्री ओली


काठमाडौं, मंसिर १९

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि बालुवाटार फर्कनु भएको छ । एपेन्टिसाइटिसको शल्यक्रियापछि १० दिन अस्पतालमा बसेर उहा बालुवाटार फर्कनु भएको हो ।

बिहीबार दिउँसो साढे तीन बजेपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित महमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज हुनु भएको हो । खैरो पेन्ट, सुन्तला रंगको ज्याकेट र कालो भादगाउले टोपी लगाएर उहि मन्द मुस्कानसहित उहा अस्पतालबाट बाहिरिनु भएको थियो ।

आत्मबलले रोगलाई हराउदै आउनु भएका प्रधानमन्त्री ओलीले अस्पतालबाट बाहिरिदै गर्दा संक्षिप्त प्रतिक्रिया पनि दिनुभयो । प्रधानमन्त्री ओलीले डिस्चार्जका क्रममा छोटो प्रतिक्रिया दिँदै स्वास्थ्यमा सुधार भएर घर जान लागेको बताउनु भयो । ‘म स्वास्थ्यमा सुधार भएर घर जाँदैछु,’ उहाले भन्नुभयो । यसैबीच प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले जोखिम मोलेर प्रधानमन्त्रीको उपचार गरिएको बताउनु भयो । प्रधानमन्त्री अस्पताल आउँदा संकटको अवस्था रहेको उहाको भनाइ थियो ।

“चिन्ताजनक अवस्था थियो,” उहाले भन्नुभयो, “हामीले जोखिम मोलेर उपचार गर्‍यौँ । अब मेडिकल टिम बालुवाटार गएर फलोअप गर्छौँ । अहिले प्रधानमन्त्रीको मुटु, फोक्सो राम्रो छ । अपरेशनपछि घाउ पनि ठिक हुने अवस्थामा छ ।” उहाले आफू किड्नीको चिकित्सक नभए पनि अहिले तत्कालै प्रत्यारोपण गर्न नमिल्ने बताउनु भयो ।