जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार १४:१७

ओलीको अनुपस्थितिमा नेकपाका शीर्ष नेता नै एमाले–माओवादी बनेपछि…


काठमाडौं, जेठ २

पार्टी एकताको एक बर्ष नपुग्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु नै एमाले र माओवादीको तहमा प्रस्तुत हुनुभएको छ । पूर्वएमाले र माओवादी बनेर एकताको टुंगो लगाउन नसकिरहेका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रममै पूर्व एमाले र पूर्वमाओवादीको नेताको हैसियतमा आफूलाई उभ्याएर घोचपेश गर्नुभएको हो ।

नेताहरुको घोचपेचसँगै नेकपाको शीर्ष तहमा गम्भीर असहमति रहेको तथ्य बाहिर आएको छ । तात्कालिन एमाले निकट युवा संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नरहेको बेला शीर्ष नेताले आपसमै घोचपेच गरी शीर्ष तहको असन्तुष्टि छताछुल्ल पार्नुभएको हो । नेताहरुले पार्टीभित्र अस्थिरता र वैचारिक अस्पष्टता रहेको भन्दै त्यसैलाई मुद्दा बनाएर घोचपेच सुरु गर्नुभयो ।

युवा संघको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सवैले बुझ्ने गरी एकअर्कामा घोचपेच गर्नुभएको हो । कार्यक्रमको अध्यक्ष दाहालले तत्कालीन एमालेका तीन नेताहरु (केपी ओली, माधव नेपाल, झलनाथ खनाल) लाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै योगदानलाई अवमूल्यन नगर्न खुला चुनौती दिनुभयो । ‘मलाई अस्थिर भन्ने र विचार स्पष्ट भएन भन्नेहरुले हेरे हुन्छ, मेरै प्रस्तावमा पार्टी एकता भएको हो । मेरै प्रस्तावमा एमालेका तीन–तीनजना नेताहरु प्रधानमन्त्री हुनुभएको हो,’ प्रचण्डको भनाई थियो ।

प्रचण्डले आफू भन्दा अगाडि बोल्नुभएका बरिष्ठ नेता नेपाल र पोखरेलको अभिव्यक्तिको खण्डनसमेत गर्नुभयो । आफू समयअनुसार चल्ने नेता भएको घोषणा गर्दै प्रचण्डले आफूलाई साथ दिन तत्कालीन एमालेका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो भाषणमा माधव नेपालको नामै किटान गरेर प्रतिवाद गर्नुभएको थियो ।

‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो । उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदाहुँदै मैले नै झलनाथजीलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा काम गरेको हुँ,’ प्रचण्डको भनाई थियो, ‘केपी ओलीलाई संविधान बनाऊँ तपाई प्रधानमन्त्री हुनुस भनेकै हुँ। यो पटक पनि चुनावअघि नै उहाँलाई तपाईं प्रधानमन्त्री भनेको हुँ। अब तपाईंहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ?’

अध्यक्ष प्रचण्ड भन्दा अघिल्लो बक्ता रहनुभएका वरिष्ठ नेता नेपालले पार्टी नेताहरुमा अहंकार देखिएको भन्दै सच्चिनुपर्ने आवश्यकता औल्याउनु भएको थियो । उहाँले कम्युनिस्ट पार्टीले ल्याएको मत ५५ प्रतिशतमात्रैै भएको भन्दै दम्भी बन्न नहुने भन्दै दुवै अध्यक्षतर्फ प्रहारको निसाना लगाउनु भयो । ‘ख्याल गर्नाेस, दुईतिहाइ होइन, अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डोर्याउँछ, हाम्रो काम र व्यवहारले जनताको मन जित्न सक्छ। जनताका पीर, मर्कामा सहयोगी भयौं, जनताको दुःख कष्टमा साथ दियौं र जनताको सुखमा पनि रमायौं भने जनताले हामीलाई मन पराउनेछन,’ नेपालको भनाई थियो ।

माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो । उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदाहुँदै मैले नै झलनाथजीलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा काम गरेको हुँ, केपी ओलीलाई संविधान बनाऊँ तपाई प्रधानमन्त्री हुनुस भनेकै हुँ। यो पटक पनि चुनावअघि नै उहाँलाई तपाईं प्रधानमन्त्री भनेको हुँ। अब तपाईंहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ?

अर्का नेता इश्वर पोखरेलले त विचारमै स्पष्टता नभएको घोषणा गरेर बहश थाल्नुभएको थियो । बिचारमा प्रष्टता नभएको कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्ने पोखरेललेको उदघोष थियो । ‘एकताबद्ध भइसकेपछि पनि विचारमा अस्पष्टता भयो भने त्यसले हामीलाई अघि बढ्न दिँदैन,’ पोखरेलको भनाई थियो, ‘संसारमा कम्युनिस्ट पार्टी ठूला बने, राज्यसत्ता कब्जा गरे, शासन सञ्चालन गरे तर ती पार्टी पुँजीवादीले एउटा पनि गोली प्रहार नगरीकन तासका महल ढलेजस्तो भएर ढले । एकताबद्ध भएको हाम्रो कम्युनिस्ट पार्टी त्यस्तो हुनुहुन्न । सबैले खबरदारी गर्नुपर्ने जरुरी छ,’ पोखरेलको भनाई थियो ।

उहाँले विचारमा स्पष्टता कायम नगरे दुर्भाग्यपूर्ण परिस्थिती आउने र त्यो आफूहरुले भोग्न नचाहेको भविश्यवाणिसमेत गर्नुभयो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिदेश भ्रमणमा रहेको बेला शीर्ष नेताहरुको सचिवालय बैठकमा गर्नुपर्ने बहशलाई सार्वजनिक रुपमै बाहिर ल्याएपछि कार्यकर्ता भने अन्यौलमा परेका छन । कतै नेताहरुले आफ्नो असन्तुष्टिलाई बैचारिक हतियार बनाएर अघि बढने हुन कि भन्ने आशंका समेत पैदा भएको छ ।