जनता टाइम्स

१७ असार २०७७, बुधबार ०७:३९

नेपालमा थप एकको मृत्यु : कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो


काठमाडौं,  असार १७ । सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । ती व्यक्तिमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टीनमा बसिरहेका थिए। असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।

आकस्मिक कक्षमा उपचारको क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । साथै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । सुदूरपश्चिममा मङ्गलबार थप ९६ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९६ जनामा कोरोना पुष्टि भएको हो ।