जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १२:४८

महिला सशक्तिकरणको क्षेत्रमा नेपाल उदाहरणीय देश – प्रधानमन्त्री ओली


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल महिला सशक्तिकरणको क्षेत्रमा नमुनाको रुपमा अघि बढीरहेको बताउनुभएको छ । प्रथम राष्ट्रिय महिला अधिकार दिवसको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

उहाले २०६३ साल जेठ १६ गते पुर्नस्थापित संसदले पास गरेको महिला अधिकार सम्बन्धी बिधयकले नेपालमा सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । ‘महिला अधिकारको क्षेत्रमा कोशेढुंगाको रुपमा रहेको जेठ १६ गतेको दिनलाई सरकारले राष्ट्रिय महिला दिवसको रुपमा यस बर्षदेखी मनाउन सुरु गरेको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संविधानले महिला अधिकार सुनिश्चित गरेकै कारण संसदमा एकतिहाइ महिला जनप्रतिनिधि र स्थानीय तहमा ४० हजार जना जनप्रतिनिधि निर्वाचित भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “हामीले स्थानीय तहमा उपप्रमुखमा अनिवार्य महिलाको व्यवस्था गरेका छौं । कतिपयले महिलालाई स्थानीय तहमा मात्र स्थान दिएको भन्लान् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर त्यसो होइन । हामीले राष्ट्रपति महिला उपराष्ट्रपति पुरुषको अभ्यास गरिरहेका छौं । सभामुख महिला उपसभामुख पुरुषको अभ्यास हामीले गरिसकेका छौं । त्यस कारण नेपाल महिला सशक्तिकरणको क्षेत्रमा नमुना नै हो । ” संविधानले व्यवस्था गरेको महिला अधिकारको व्यवस्था कार्यन्वयन गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।