जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार २०:३३

उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंबेदनशील


काठमाडौं, १३ बैशाख । इलाम–२ र बझाङ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनमा २ हजार ३ ८७ प्रहरी परिचालन गरिने भएको छ । प्रहरी प्रधान कार्यालयले उपनिर्वाचनको सुरक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि ‘उपनिर्वाचन सुरक्षा योजना–२०८१’ तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा एक हजार ३६३ प्रहरी परिचालन गरेको छ ।

बझाङ प्रदेशसभा (क) को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी परिचालन गरेको छ । प्रवक्ता ढकालले उपनिर्वाचनलाई सुरक्षा प्रदान गर्नका लागि आवश्यक बन्दोवस्तीका सामग्रीका साथ प्रहरी मतदान केन्द्र र मतदानस्थलमा खटिइसकेको जानकारी दिनुभएको छ । प्रहरीले इलाम र बझाङमा गरि ५९ अतिसंबेदनशील मतदान केन्द्रको रुपमा छुट्ट्याएको छ ।

इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । भने प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ । त्यस्तै बझाङमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा रहेको जनाइएको छ ।