जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १३:०४

प्रधानमन्त्रीको सन्देश लिएर फेरि बालकाट पुगे कानूनमन्त्री



काठमाडौं, असोज १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई सन्देश पठाउनु भएको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आज ओली निवास बालकोट पठाएर सहमति र सहकार्यका साथ अघि बढन तयार रहेको सन्देश दिनुभएको हो । एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्रीको सन्देश सुनेपछि आफ्नो सन्देश पठाउनु भएको छ ।

सरकारले एमाले बिभाजनकै लागि ल्याएको अध्यादेश खारेज गरेको भोलिपल्ट देउवाले मन्त्री कार्कीलाई ओली निवास पठाउनु भएको हो । भेटमा एमाले अध्यक्ष ओलीले सरकारको कामप्रति कडा आलोचना गर्दै कानूनमन्त्री कार्कीमार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाउनु भयो ।

‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गतभदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ । चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधानविपरीत थियो । अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन,’ भेटमा अध्यक्ष ओलीको भनाई थियो ।