जनता टाइम्स

२७ आश्विन २०७८, बुधबार ०६:३४

चुनावपछि प्रचण्ड र माधवको पार्टी टर्चलाइट बालेर खोज्दा पनि भेटिदैन : महेश बस्नेत


भक्तपुर, असोज २७ । एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक जीवनमा अन्तिम भोज खाएको बताउनु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ४ एमाले कमिटीले आयोजना गरेको दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका चाड पर्वहरुको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताउनु भएको हो ।

उहाँले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा अन्तिम पटक सहभागिता जनाएर माधव र प्रचण्डले इतिहासमा सिमित हुने गरी भोज खाएको बताउनु भयो । आगामी निर्वाचनपछि नेपाली कम्युनिष्ट आन्दोलनका गद्दारको रुपमा रहेका माओवादी तथा एकिकृत समाजवादी टर्च लाईट बालेर खोज्नुपर्ने अवस्था आउने उदघोष पनि बस्नेतले गर्नुभयो । अन्तिम भोज खाएका छन, आगामी चुनावपछि प्रचण्ड र माधवको पार्टी टर्चलाइट बालेर खोज्दा पनि भेटिदैन, बस्नेतले भन्नुभयो । उहाँले एमाले नै नेपाली जनताको पार्टी भएको तथ्य अव स्थापित भइसकेको पनि बताउनु भयो ।

‘प्रचण्ड–माधव कमरेडहरु एउटा रिसोर्टमा वसेर अन्तिम भोज खाइरहेका छन । त्यही भएर चुनाव गराउने पक्षमा छैनन । उनीहरुले जनताको म्याण्डेडलाई स्वीकार गर्दैनन् । हामी हतारिएका छैनौं, हामीलाई ठिकै भएको छ । एमालेले राजनीक र शासकीय काम तथा विकास निर्माणका कामले गर्दा पार्टीको सांगठनिक कामलाई आवश्यक मात्रामा गर्न सकिएको थिएन । अहिले संगठन निर्माण र पार्टी प्रवेशको लहर आएको छ । देशभर एमालेको उक्त जनलहर देखेर प्रचण्ड–माधवलाई रिँगाटा लागेको छ,’ बस्नेतले भन्नुभयो ।

उहाँले अबका दिनमा एमाले बोलेर देखाउने भन्दा पनि गरेर देखाउने पार्टीको रुपमा परिचय स्थापित गर्दै गएको उल्लेख गर्दै एमालेका नेता तथा कार्यकर्ताले मान नखोजी काम मात्र खोजेर जनताको सेवा तथा मुलुकलाई समृद्ध बनाउने काममा लाग्नुपर्ने बताउनु भयो । भक्तपुरका आधाभन्दा बढी क्रियाशिल सदस्यता भएका जनताहरु एमालेमा प्रवेश गर्ने ठोकुवा गर्दे बस्नेतले एमाले विवादरहित तथा गुटरहित पार्टी बनेको स्पष्ट पार्नुभयो ।

काम गर्ने नेताहरुलाई टावर बनाउनु स्वभाविक भएको उदाहरण प्रस्तुत गर्दै नेता बस्नेतले विकासका नायक केपी शर्मा ओली समकालिन राजनीतिमा राजनेताको रुपमा उदाएकाले विपक्षीलाई निदहराम भएको बताउनु भयो । माधव नेपालले नेतृत्व गरेको नेकपा ‘एस’ पार्टी भक्तपुरमा ‘नो’ पार्टीको रुपमा परिणत हुने भन्दै बाटो विराएर हिडेका नेपालका सम्पूर्ण कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता एमालेमा नै आएर गोलवद्ध हुने उहाँको भनाई छ । उहाँले परमादेश र अध्यादेशका कारण सदनमा विभाजन भए पनि जनताको माझमा एमाले विभाजन नभएको बताउनुभयो ।

बस्नेतले एमालेलाई कमजोर नठान्न र निहुँ नखोज्न पुनः प्रचण्डले चेतावनी दिनुभयो ‘एमाले नदी हो, माओवादी खहरे हो । खहरे वर्षा याममा बग्छ । नदी सालिन भएर बग्छ । तर नदीको अगाडी खहरेको केही लाग्दैन । प्रचण्डले एमालेलाई कमजोर नठाने हुन्छ । एमाले बलियो छ । नीति तथा सिद्धान्त अडिक र अटल रहेको छ । जनताको बहुदलीय जनवादलाई सिद्धान्त मानेको छ । जसले जनताको पक्षमा काम गर्छ । तपाईको जस्तो ध्वंसात्मक सिद्धान्तलाई स्वीकार गर्दैनौं,’ बस्नेतले भन्नुभयो ।