जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार १०:१०

एनआरएनए राष्ट्रिय समितिको भेलामा पत्रकारलाई ठेगान लगाइदिने चेतावनी


अमेरिका, कात्तिक १० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरूले विदेशमा कार्यरत पत्रकारमाथि गालीगलौज तथा डरधम्की दिएका छन् । गैरआवासीय नेपाली संघ अमेरिकाको सक्रियतामा आइतबार सम्पन्न भेलामा सहभागी अध्यक्षहरूले आफ्नो अनुकूल समाचार नलेख्ने पत्रकारहरूलाई ठेगान लगाइदिने धम्की दिएका हुन् ।

एक दर्जन राष्ट्रिय समितिका अध्यक्षहरू सहभागी भएको बन्दसत्रमा गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष शालिग्राम डुम्रेले संघको निर्वाचनमा आफ्नो पक्षले जितेपछि केही पत्रकारलाई ठेगान लगाउनुपर्ने अभिव्यक्ति दिनुभएको हो ।

गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष दिपक गौतमले पत्रकारहरूले संघको केन्द्रीय कार्यालयबाट सूचना लिएर समाचार लेखेको भन्दै आक्रोश पोख्नुभएको छ । पछिल्लो समयमा पंजीकृत सदस्यहरूको शुल्क नतिरेको र नेपाल बाढीपहिरोले आक्रान्त भएको बेला अध्यक्षहरू विधानविपरीत भेला गर्दै हिँडेको भन्दै आलोचना भएका समाचार प्रकाशित भएपछि उनीहरू आफ्नो कमजोरी ढकछोप गर्न आक्रामक भएका हुन् ।

भेलाको निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पत्रकार श्याम लुइँटेल र चिरन शर्मालाई जरोसमेत उखलेर फाल्ने धम्की दिँदै सार्वजनिक बेइज्जतीसमेत गर्नुभएको छ । लुइँटेल नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार र शर्मा महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष हुनुहुन्छ ।

पत्रकार सम्मेलनमा लुइँटेलले एनआरएनएको विधानका धारा उल्लेख गर्दै यसरी विधानविपरीत भेला आयोजना गर्न हुन्छ र ? भन्नेलगायतका प्रश्न गर्नुभएको थियो । शर्माले पनि केन्द्रीय समिति नै अवैधानिक भन्ने, फेरि त्यही केन्द्रीय समितिलाई नै माग राख्ने कसरी वैधानिक हुन्छ ? भन्ने प्रश्न सोधेपछि मगर आक्रोशित भएर धाकधम्की दिनुभएको हो ।

गाहा मगरले पत्रकारको प्रश्नको मर्ममा प्रवेश नै नगरी सार्वजनिक कार्यक्रममै गालीबेइज्जती सुरु गर्नुभएको थियो । उहाँले पत्रकार सम्मेलनमा शर्मालाई आउन दिनै नहुने तर्क गर्नुभएको छ । गाहा मगर बेलायतकै अर्का पत्रकार लुइँटेलमाथि पनि खनिनु भएको हो ।