जनता टाइम्स

२६ मंसिर २०७८, आईतवार ०८:४८

पौडेल निवासमा देउवाको ४५ मिनेट वार्ता, यस्तो छ निश्कर्ष


काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले भेटेर सहयोग माग्नुभएको छ ।

शनिबार सभापतिको उम्मेदवारी दर्ता गरेपछि राति सवा ९ बजे बोहोराटारस्थित पौडेल निवास पुगेर देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई आग्रह गर्नुभएको हो । ‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भन्नुभयो, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’

उहाँका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गर्नुभएको छ । शनिबार १४औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएको विज्ञप्ति जारी गरेर जानकारी दिएका नेता पौडेलले राष्ट्रिय राजनीतिमा भने रहिरहने बताउनु भएको थियो ।

कांग्रेसको आफ्नो सिद्धान्त, आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनमा सभापतिको दौडबाट आफू बाहिरिएको पौडेलले बताउनु भएको छ ।