जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार ०७:४३

कांग्रेस मतगणना अपडेट : २७७७ मत गन्दा देउवालाई १३१८, कोइरालालाई १०२३


काठमाडौं, मंसिर २८ । कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाउनुभएको छ । अहिलेसम्म २ हजार ७ सय ७७ मत गणना हुँदा देउवाले १३१८ मत पाएका छन् ।

त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १०२३ र प्रकाशमान सिंहले २०५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै विमलेन्द्र निधिले १६६ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १२ मत मात्र प्राप्त भएको छ । मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।