जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार १४:३६

एमाले सांसदको नाराबाजी चलिरहँदा संसदमा ६ अध्यादेश पेस


काठमाडौं, २८ मंसिर । सरकारले संसदमा विभिन्न ६ वटा अध्यादेश संसद् बैठकमा पेस गरेको छ । आजबाट सुरु भएको १०औँ अधिवेशनको पहिलो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्नुभएको हो ।

मन्त्री बडूले अध्यादेश पेस गरिरहँदा एमाले सांसदको नाराबाजी चलिरहेको थियो । आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए । आजबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उहाँहरूले नाराबाजी गर्नुभएको हो ।