काठमाडौं, ३ पुस । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम स्थगित भएको छ। यसअघि अध्यागमन विभागले सूचना जारी गरी ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने बताएको थियो ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका मुलुकबाट नेपाल आएका यात्रुले अनिवार्य क्वारेन्टाइन बस्न नपर्ने भएको हो । अध्यागमन विभागले आज एक सूचना जारी गर्दै यसअघि जारी गरेको नियम तत्कालका लागि स्थगित गरेको जनाएको छ।
विभागले शुक्रबार मात्रै मन्त्रिपरिषद्को निर्णय भन्दै ओमिक्रोन देखिएका ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने सूचना जारी गरेको थियो। जोखिमयुक्त मानिएका ६७ देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने र आरटी–पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने भनिएको थियो।
विभागले परीक्षणको रिपोर्ट नेगेटिभ आएमा ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने र पोजिटभ रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने बताएको थियो। निर्णय स्थगित गरिएको बारे कारण नखुलाइए पनि अर्को सूचना नहुँदासम्मका लागि विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने छैन।













प्रतिक्रिया दिनुहोस्