पोखरा, फागुन २० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी र नेकपा एकीकृत समाजवादीससँगको गठबन्धन चुनावमा भाग दिनका लागि नगरिएको प्रष्ट पार्नुभएको छ । संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारे गठबन्धनमा छलफल भइरहेको भन्दै थापाले चुनावमा भाग दिने गरी कांग्रेसले माओवादी र समाजवादीलाई बोध्न नसक्ने घोषणा गर्नुभएको हो ।
‘कांग्रेसले प्रचण्ड–माधवसँगको गठबन्धन गरेको चुनाव गराउनका लागि हो, चुनावमा भाग दिन होइन, यो कुरा प्रष्ट बुझेहुन्छ,’ कास्कीको मादी गाउँपालिका आज आयोजित अगुवा कार्यकर्ता भेलामा महामन्त्री थापाले भन्नुभयो ।
महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवले बिन्ती गरेपछि नै कांग्रेसले सत्ता लिनुपरेको बताउनु भयो । केपी ओली मात्र नभई प्रचण्ड र माधव पनि दोषी रहेको भन्दै थापाले गठबन्धनमा रहेका कारण प्रचण्ड–माधवप्रति कांग्रेसको अतिरिक्त जिम्मेवारी नरहेको बताउनु भयो ।
‘कांग्रेसलाई देखाइदियौं भनेर आएका कम्युनिस्टहरुले के गरे ? ५० वर्षसम्म कांग्रेस फर्केर आउँदैन भन्नेहरु अहिले कोही हामीसँगै गठबन्धनमा छन । एउटाले संसद विघटन गरे, अर्को रोइ कराइ गर्दै लौन न प्रभु सरकार चलाइदिनु पर्यो भनेर आएपछि कांग्रेसले सम्हाल्नै पर्यो,’ थापाको भनाई थियो । महामन्त्री थापाले अहिलेको गठबन्धन आवश्यकताले बनेको भन्दै यसको काम चुनाव गराउने मात्रै रहेको प्रष्ट पार्नुभयो ।
गठबन्धनमा बस्नासाथ चुनावमा पनि मिल्नुपर्छ भन्न नमिल्ने भन्दै प्रचण्ड–माधव समूहसँग चुनावी गठबन्धन हुने बिषयमा कांग्रेसका सवै नेता–कार्यकर्ता असहमत रहेको बताउनु भयो । उहाँले स्थानीय चुनाव आगामी वैशाख ३० मै हुने ठोकुवा पनि गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्