लमजुङ, २२ फागुन । करापुटार–डढुवा–साल्मे भञ्ज्याङ सडकखण्डअन्तर्गत करापुटार डढुवा सडकखण्ड ढलान गरिने भएको छ । मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस सडकखण्डअन्तर्गत नगरपालिकाको वडा नं ७ करापुटारदेखि वडा नं ८ डढुवासम्मको नौ किमी बाटो ढलान गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारको रु ३१ करोड २३ लाख ३० हजार २६९को लागतमा ढलान गर्न लागिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हाल उक्त सडक खण्डमा पर्खाल लगाउने, नाली बनाउने, कटिङ गर्नेलगायत कार्य भइरहेको छ । नौ किमी ढलान गरिनेमा जङ्गल रहेको चार किमी भने सडकको चौडाइ चार मिटर र बाँकी भागमा पाँच मिटर चौडाइ ढलान गरिने भएको छ । उक्त ढलानको मोटाइ भने २० सेन्टिमिटर हुने कार्यालयका इञ्जिनीयर राजेश अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार विसं २०७८ असोज १३ मा निर्माणको जिम्मा पाएको रसुवा जयदम्बा जेभीले सो खण्ड दुई वर्षमै सम्पन्न गर्ने भएको छ । हालसम्म यस सडकखण्डको कार्य आठ प्रतिशत सकिएको छ । त्यस्तै डढुवादेखि साल्मेसम्मको सडकखण्ड पनि स्तरोन्नति भइरहेको छ । करिब आठ किमी सडकखण्डमा ग्राभेल, नाली, तारजाली, पर्खाल, बाटो चौडाइ गर्ने कार्य भइहेको जनाइएको छ ।
प्रदेश सरकारकै रु १७ करोड १५ लाख ४१ हजार ४५४को लागतमा मोतिदान कम्पनीले जिम्मा लिएको सो सडक नालासहित आठ मिटर चौडाइको हुने भएको छ । दुई वर्षमै निर्माण गरिसक्नुपर्ने सो सडकखण्डको समय सकिँदा पनि हालसम्म ७५ प्रतिशत मात्र निर्माण कार्य भएको इञ्जिनीयर अधिकारीले बताउनुभयो । निर्माण सम्झौतानुसार यही फागुन ६ गतेसम्म निर्माण गरसक्नु पर्नेमा गत शुक्रबार म्याद थप गर्दै आगामी असारभित्रमा सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको छ ।
सडक स्तरोन्नति र ढलान हुन लागेपछि स्थानीयवासिन्दा हर्षित भएका छन् । ग्रामीण कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयवासीलाई सहज हुनाका साथै यात्राको समयसमेत छोटिने भएको छ । उक्त कार्यालयका प्रमुख इञ्जिनीयर सुमन गिरीले भन्नुभयो, ‘यस कार्यालयले जिल्लाका विभिन्न स्थानमा धमाधम मोटरेवल पुल, झोलुङे पुलदेखि सडक स्तरोन्तति गर्ने कार्य गरिरहेको र अधिकांश मोटरेवल पुलको निर्माण अन्तिम चरणमा पुगेकाले यस आर्थिक वर्षभित्रमै सम्पन्न हुने भएको छ ।’













प्रतिक्रिया दिनुहोस्