जनता टाइम्स

७ चैत्र २०७८, सोमबार १८:००

एमाले बटमलाइन : प्रचण्ड-माधवसँग सहकार्यको ढोका बन्द, दुवै पार्टीमा रहेका कार्यकर्तालाई उचित भूमिकासहित फर्काइने


काठमाडौं, चैत ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन लाग्ने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका लागि एमालेमा सदाका लागि ढोका बन्द भएको बटमलाइन सुनाउनु भएको छ ।

आज बसेको पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीले चुकुल तोडेर, सिसा फोडेर कांग्रेसको पछि लाग्न गएका प्रचण्ड–माधव समूहसँग वाम एकताको नाममा कुनै पनि सहकार्य हुन नसक्ने प्रष्ट बटमलाइन पनि अध्यक्ष ओलीले सुनाउनु भएको हो ।

आजको पोलिटव्यूरो बैठकमा घनश्याम भुसाल र रघुजी पन्तले एमालेले वाम एकताको अगुवाइ गर्नुपर्ने भन्दै चुनावमा वाम गठबन्धन बनाउन गरेको प्रस्तावको जवाफ दिने क्रममा अध्यक्ष ओलीले यस पटक वाम गठबन्धन जस्तो नक्कली सम्भव नरहेको बताउनु भएको हो ।

‘चुकुल तोडेर, ढोका र झ्यालको सिसा फोडेर गद्दारी गर्दै कांग्रेसलाई सत्ता बुझाउन जानेहरूलाई गठबन्धन वा एकताका नाममा चुकुल खोलिन्न । त्यो जस्तो नक्कली कुरा केही हुन्न,’ बैठकमा अध्यक्ष ओलीको भनाई उधृत गर्दै पोलिटब्यूरोका एक सदस्यले जनताटाइम्स डटकमसँग भने, ‘माधव नेपालसँग गएका र प्रचण्डसँग रहेका तलका नेता कार्यकर्तालाई भने पार्टीमा ल्याएर उचित भूमिका र जिम्मेवारी दिनुपर्छ । नेताले गद्दारी गरे पनि कार्यकर्तालाई ढोका खुला राख्ने हो ।’

एमाले अध्यक्ष ओलीको यो बटमलाइनसँगै कांग्रेसले पेले एमालेसँग सहकार्य गर्ने प्रचण्डको भनाईमा पूर्णबिराम लागेको छ । प्रचण्डले केही दिनअघि कांग्रेसका केही नेताहरुले आफूहरुमाथि ठूलो अपमान गरेको र पेल्ने काम गरेको भन्दै यस्तै ब्यवहार रहिरहे एमालेसँग मिल्ने घोषणा गर्नुभएको थियो । यही बिषयमा अध्यक्ष ओलीले एमालेविरुद्ध षड्यन्त्र गर्ने,अदालत र निर्वाचन आयोगमा सेटिङ गर्ने, सभामुख प्रयोग गरेर पार्टी फुटाउनेहरूसँग गठबन्धन संभव नरहेको प्रष्ट पार्नुभएको हो ।

अध्यक्ष ओलीले सोमप्रसाद पाण्डेको उदाहरण दिँदै पार्टी दर्ता भइसकेपछि पनि अदालतमा निवेदन हालेर नेकपा एसमा जान पाउने आदेश दिलाइएको भन्दै गठबन्धनका नाममा जनता र कार्यकर्ता भ्रमित पार्ने काम नगर्न निर्देशन समेत दिनुभएको छ ।