जनता टाइम्स

१५ चैत्र २०७८, मंगलवार १५:१४

दोलखाको उत्तरी क्षेत्रमा रित्तियो माओवादी केन्द्र, सिंगो कमिटी बिलय गराउँदै कमाण्डर नै एमालेमा प्रवेश


दोलखा, चैत १५ । चुनाव नजिकिएसँगै दोलखाको उत्तरी क्षेत्रमा नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेशको लहर चलेको छ । आगामी बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा माओवादी कम्युनिष्ट आन्दोलनबिरोधी गठबन्धनमा सहभागी हुने भएपछि पुराना र इमान्दार नेताहरु धमाधम एमाले रोज्न थालेका हुन ।

एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको गृहनगर गौरीशंकरमा माओवादीका सवै नेताहरु एमाले प्रवेश गरेका हुन । माओवादी केन्द्रका निर्वाचन क्षेत्रीय संयोजक रहनुभएका जिल्लाकै प्रभावशाली नेता निमा लामा आज आफ्नो वडाको सिंगो टीम बिलय गराउँदै निर्वाचन क्षेत्रका अन्य प्रभावशाली नेता–कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभएको छ ।

लामा २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट गौरीशंकर गाउँपालिका अध्यक्षका उम्मेद्वार हुनुहुन्थ्यो । लामो समयदेखि माओवादीमा क्रियाशील नेता लामालाई आज उहाँकै वडा झ्याँकूमा पुगेर पूर्वमन्त्री एवं एमाले नेता गुरुङ, एमाले दोलखा इञ्चार्ज सरस्वती बस्नेतसहितका नेताहरुले पार्टीमा स्वगत गर्नुभएको छ ।

लामासँगै माओवादी दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा, मिङगुर शेर्पा, अशोक तामाङ, छिरिङ डोमा शेर्पा, नुर्वु शेर्पा, नाम्गेल शेर्पालगायतका नेताहरु एमाले प्रवेश गर्नुभएको छ । आज आयोजित कार्यक्रममा नेता लामाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भिजन र दोलखामा पार्वत गुरुङ जस्ता बिकाशवादी र सवैलाई समान ब्यवहार गर्ने कामबाट आफू एमालेमा आएको बताउनु भयो ।

उहाँले माओवादीले मुलुकको समृद्धि रोक्न कांग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलनलाई नै घात गरेको कारण अव सो पार्टीमा कोही पनि बस्न नसक्ने बताउनु भयो । सत्तामा बसेर लुटिखाने समुह मात्रै अव माओवादीका लागि फिट हुने उहाँको भनाई थियो । उहाँहरुसहित आज सो वडाका १ सय भन्दा बढी माओवादी कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेका छन ।

नवप्रवेसीहरुलाई नेता गुरुङले पार्टीमा स्वगत गर्दै उचित जिम्मेवारी दिने र समृद्धिका लागि साथसाथ सहकार्य गर्ने बताउनु भएको छ । समृद्ध दोलखा निर्माण अभियानमा एकसाथ अघि बढनका लागि गुरुङले दोलखाका सवै दलमा आवद्ध इमान्दार नेता–कार्यकर्तालाई आह्वानसमेत गर्नुभएको छ ।