जनता टाइम्स

१९ जेष्ठ २०७९, बिहीबार १३:४६

चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न लक्ष्मणलाल कर्णको सुझाव


काठमाडौं, १९ जेठ । लोकतान्त्रिक समाजवादीका सांसदले चुरे क्षेत्रबाट बस्ती हटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले चुरे संरक्षणका लागि सो क्षेत्रबाट बस्ती हटाउनुपर्ने र वृक्षारोपण गर्नुपर्ने बताउनुभएको छ ।

चुरे संरक्षण भएमा मधेशका बस्ती जोगिने भन्दै कर्णले भन्नुभयो,‘चुरे संरक्षण गर्न वृक्षारोपण गर्नुहोस् । चुरेमा भएका बस्ती हटाउनुहोस् । चुरे संरक्षण भयो भने मधेशका जग्गा बच्छ ।’ चुरे संरक्षण नभएमा १० वर्षमा मधेश मरभूमिमा परिणत हुने भन्दै उहाँले बजेट बनाउने क्रममा प्रदेश सरकारसँग छलफल नगरेकोमा आपत्ति जनाउनुभयो । चुरे संरक्षण गर्ने विषयमा गफ मात्रै भएको टिप्पणी गरेका कर्णले चुरे संरक्षण गर्ने विषयमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।