काठमाडौं, असार २२ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्ती गर्नु नै पार्टीको बटमलाइन रहेको प्रष्ट पारेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीसँग सम्बन्धित कुनै पनि छलफलमा आफूहरु सहभागी नहुने बताउनु भयो ।
‘अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति घुसाएर बजेटमा करका दर तल–माथि गर्नुभएको छ। हामीले संसदमा निरन्तर अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएका छौं । बजेट निर्माणको अघिल्लो रातको सीसीटिभिको फुटेज मागेका छौं । हामी उहाँको बर्खास्त नभएसम्म कुनै संवाद र छलफलमा भाग लिदैनौं,’ ‘हाम्रो बटमलाइन अर्थमन्त्री शर्माको बर्खास्त हो ।’
उहाँले सदनमा प्रमुख प्रतिपक्षले निरन्तर उठाएको विषयलाई बेवास्ता गरेकाले अर्थमन्त्री प्रकरणमा कसैसँग छलफल र संवाद गर्ने पक्षमा पार्टी नरहेको स्पष्ट पार्नुभयो । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति घुसाएर बजेटमा करका दर तल–माथि गरेको बेलाको सीसीटीभी फुटेज ‘मेटिए’पछि अर्थमन्त्रीको अपराध स्वीकार गरेको प्रष्ट भएको हो । सत्तारुढ दलकै नेताहरुले पनि अर्थमन्त्रीको राजीनामा मागेका छन ।
अर्थमन्त्री शर्माले पूर्वनासु रघुनाथ घिमिरे र व्यापारिक घरानाका एक ‘फाइनान्स डाइरेक्टर’लाई जेठ १४ गते मध्यराति मन्त्रालयमा प्रवेश गराएर बजेटमा राजस्व, कर र भन्सारका दर मिलाउन प्रयोग गर्नुभएको थियो । यो तथ्यलाई पहिलो पटक अन्नपूर्ण पोस्ट दैनिकले ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो… ’ शीर्षकमा विशेष समाचार प्रकाशन गरेको थियो। उक्त दिनको सीसीटीभी फुटेज दिन उपभोक्ता हित संरक्षण मञ्चले माग गर्दा अर्थ मन्त्रालयले १३ दिनमै मेटिएको जवाफ दिएको थियो ।
मन्त्रालयको जवाफले अनधिकृत व्यक्तिको प्रवेशलाई पुष्टि गरेको भन्दै अर्थमन्त्री शर्मामाथि राजीनामा दिन र छानबिन गर्न चौतर्फी दबाब बढेको छ । नागरिक समाजका अगुवाले समेत तत्काल राजीनामा दिन र अर्थमन्त्रीलाई छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन ।













प्रतिक्रिया दिनुहोस्