जनता टाइम्स

३ श्रावण २०७९, मंगलवार २०:२४

प्रचण्ड–माधवको रणनीति : गठबन्धनमा सही ठोक्ने, कांग्रेसको बहुमत जसरी पनि रोक्ने


काठमाडौं, साउन ३ । नेकपाबाट बिभाजित भई तीन टुक्रामा बिभाजित कम्युनिष्ट पार्टीका नेताहरुले सत्तारुढ नेपाली कांग्रेससँग गठबन्धन गर्दा उस्को एकल बहुमत आउन नदिने निश्कर्ष निकालेका छन ।

आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने चर्चा चलिरहेको बेला आज सिंहदरवारमा बार्तामा बसेको तीन ओटी दलका नेताहरुले यस्तो निश्कर्ष निकालेका हुन । आफ्नै पार्टी नेतृत्वको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनाउन लाग्नुभएका तात्कालिन नेकपाका सचिवालय सदस्य तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक बामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ आज दोस्रो पटक छलफलमा जुटनु भएको थियो ।

प्रचण्ड भारत भ्रमणबाट फर्केपछि भएको यो छलफललाई अर्थपुर्ण रुपमा हेरिएको छ । आजको छलफलमा नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयलाई सकारात्मक र आफूहरुको दवावको परिणाम भन्दै बहुमत ल्याउन भने नदिने गरी गठबन्धनको बार्गेनिङ गर्ने निर्णय नेताहरुले गरेका छन । तीनै दलका अध्यक्ष निकट नेताहरुका अनुसार कांग्रेसलाई दवावमा राख्नकै लागि आजको छलफल आयोजना गरिएको हो ।

‘सत्ता गठबन्धन कायम गरेर जाने तर कांग्रेसलाई समानुपातिकसहित सवै आँकलन गरेर बहुमत आउनबाट जसरी पनि रोक्ने साझा निश्कर्ष निकालिएको छ,’ बैठकमा भएको सहमति उधृत गर्दै नेकपा माओवादीका एक नेताले जनताटाइम्स डटकमसँग भने । सोमवार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले सत्ता गठबन्धन कायम राखेर जाने निर्णयसहित एकल बहुमतमा पुग्ने निश्कर्ष निकालेको थियो । कांग्रेस एक्लैको बहुमत आउँदा आफूहरु समाप्त हुने भन्दै पाँच नेताले गठबन्धन पनि गर्ने, कांग्रेसको बहुमत पनि आउन नदिने रणनीतिका साथ अघि बढने योजना बनाएका हुन ।

स्रोतका अनुसार कांग्रेस तर्साउन एमालेसँग तालमेल हुनसक्ने कुरालाई अगाडि सार्ने रणनीति पनि अघि बढाइने छ । ‘एमालेदेखि कांग्रेसको सातोपुत्लो उडेको देखिन्छ, एक्लै चुनावमा जाँदा एमालेलाई हराउन सकिदैन भन्ने निश्कर्ष त कांग्रेसबाट आइसक्यो, अव हामीले भनेजस्तो भएन भने एमालेले तालमेल भनेको छ भनेर दवावमा राखिन्छ, उस्को बहुमत आउन रोकेपछि फेरि पाँच बर्ष सत्ताको चावी हाम्रै हुनेछ,’ बैठकमा माओवादी अध्यक्ष प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो ।

स्रोतका अुनसार बामपन्थी तालमेलको कुरा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठले गरिरहने, प्रचण्ड र माधवले कांग्रेसको रणनीति बिफल पार्न दवावकारी भूमिका खेल्ने र बामदेवले एमालेलाई घुमाइ राख्ने कार्ययोजनासमेत बनाइएको छ ।

आज बैठकमा जुटने तीन पार्टीका नेताहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा हुनुहुन्थ्यो । उहाँहरुकै कारण नेकपा बिभाजन भएको तथ्य यसअघि बामदेव आफैले खोलिसक्नु भएको छ ।