काठमाडौं, साउन १ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य–मान्यताविपरीत दमनकारी शैली अपनाउँदै तानाशाही र फाँसिवादी प्रवृत्तितर्फ उन्मुख भएको बताउनु भएकाे छ ।
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको पहलमा निर्माण गरिएको पार्टीको नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिक कार्यक्रममा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकारसमेत सङ्कुचित हुँदै गएको बताउनुभयो। “सरकारको दमन बढेको छ, शान्तिपूर्ण तरिकाले विरोध गर्न पनि नपाइने तानाशाही र फाँसिवादको दिशामा सरकार अगाडि बढेको छ,” अध्यक्ष ओलीले भन्नुभयो।
उहाँले सञ्चारमाध्यमको कार्यालयअगाडि सरकारको निर्देशनमा सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गरिएको बताउँदै यसले प्रेस स्वतन्त्रता र नागरिकको सहिष्णुतामाथि आघात पुगेको दाबी गर्नुभयो। “सरकारले निर्देशित ढंगले सञ्चारमाध्यमका गेटअगाडि गाडी तेर्स्याउने काम भयो, जनताको सहिष्णुताको अपमान गरिएको छ, हुन नहुने कुरा पनि सहनु परेको छ, फाँसिवाद भनेको यही हो,” उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले सरकारले सरकारी खर्चमा सिभिल ड्रेसमा तालिमप्राप्त व्यक्तिहरू परिचालन गरी आन्दोलन दमन गर्ने योजना बनाएको आरोप पनि लगाउनुभयो। सरकारको आलोचना गर्ने व्यक्तिलाई धम्क्याउने र पत्रकारलाई त्रसित बनाउने प्रयास भइरहेको उहाँको दाबी थियो। “मानिसलाई सरकारको विरोध गर्नेबित्तिकै धम्क्याउने काम भएको छ, पत्रकारलाई तर्साउने काम भएको छ, त्रासमा पारेर देश निसास्सिएको अवस्था छ,” उहाँले बताउनुभयो।
उहाँले मुलुकमा भय र असुरक्षाको वातावरण सिर्जना भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीका आधारभूत संस्थामाथि समेत दबाब बढ्दै गएको टिप्पणी गर्नुभयो। “संसद् सरकारबाट दमित छ, राज्यका सबै अंग कार्यकारिणी नियन्त्रित भएका छन्,” अध्यक्ष ओलीले भन्नुभयाे ।
उहाँले राजनीतिक दल र समाजमा दूरदृष्टिको अभाव तथा आलोचनात्मक चेत कमजोर बन्दै गएको उल्लेख गर्दै त्यसकै कारण सरकार थप बेलगाम रूपमा अघि बढिरहेको धारणा राख्नुभयो। “राजनीतिक दल र समाजको टाढा हेर्ने दृष्टिकोण समाप्त भएको छ, आलोचनात्मक चेत हराएको छ, नजिककाे भाग मात्र हेर्न बानि विकास भएकाे छ, त्यसैले सरकार बेलगाम अगाडि बढिरहेको छ,” उहाँले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्