काठमाडौं, ६ साउन । थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी नेपाली जुडो टोली स्वदेश फर्किएको छ । साउन १ गतेदेखि सुरु प्रतियोगिताको क्याडेटमा २ तथा जुनियरमा २ गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाए ।त्यसपछि उनी काजाकिस्तान र ताइपेईका खेलाडीसँग पराजित भए । महिला ४८ केजीमुनि निशा श्रेष्ठ पदकनजिक पुगेकी थिइन् । रिपाचेजमा निशा काजाकिस्तानकी खेलाडीसँग चुकिन् ।
त्यो भिडन्त जितेका भए निशाको कास्य पदक पक्का थियो । रिपाचेजअघि निशा उज्वेकिस्तानकी खेलाडीसँग पछि परेकी थिइन् । जुनियरको पुरुष ६० केजीमुनि मंगोलियाका खेलाडीले उत्तम प्रधान श्रेष्ठलाई हराए । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले पहिलो खेलमा भारतकी खेलाडीलाई पराजित गरिन् ।
सेमिफाइनलमा देवकीले काजाकिस्तानकी खेलाडीसँग पराजय व्यहोरे पनि रिपाचेजमा पुनः अवसर पाइन् । कांस्य पदकका लागि भएको रिपाचेजमा देवकी उज्वेकिस्तानकी खेलाडीसँग चुकिन् । देवकी र निशा दिदीबहिनी हुन् । नेपालबाट सहभागी चारै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।
प्रतिक्रिया दिनुहोस्