जनता टाइम्स

१० श्रावण २०७९, मंगलवार १६:२१

सेयर बजार ४५ अंकले घट्यो


काठमाडौं, १० साउन । सेयर बजार करिब ४५ अंकले घटेको छ । साताको पहिलो र दोस्रो कारोबारको दिन बढेको सेयर बजार तेस्रो दिन आज ओरालो लागेको हो । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ ।

बजारसँगै कारोबार संख्या र रकम पनि घटेको छ । सोमबार चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा आज २२२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता सेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भयो ।

गणपति लघुवित्त कम्पनीको सेयर करिब सात प्रतिशतले घटेको छ । रिभर फल्स पावर कम्पनी, सबैको लघुवित्त, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि मल्टिपर्पोज फाइनान्सको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।