जनता टाइम्स

११ श्रावण २०७९, बुधबार २१:१०

मेयर बालेन शाहको योजनामा अवरोध, बानेश्वरमा नारावाजीसहित बिरोध प्रदर्शन


काठमाडौं, साउन ११ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिरुद्ध नारावाजीसहित प्रदर्शन भएको छ ।

नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।

आज साँझ नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि उनीहरूले मेयर शाहविरुद्ध नाराबाजी गरे । महानगरले ज्याद्धती गरेको भन्दै आज साँझ बानेश्वरस्थित छक्कुबक्कु पार्क नजिकै सडक छेउमा व्यापारीहरू जम्मा भएर केही बेर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।

नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै सडक छेउका व्यापारीहरू आन्दोलित बनेका हुन् । उनीहरुले बैकल्पिक ब्यवस्थाबिना यस्तो काम नगर्न चेतावनीसमेत दिएका छन । काठमाडौं महानगरले फुटपाथमा ब्यापार गर्न नपाउने भन्दै उठाउँदै आएको छ ।