काठमाडौं, साउन १३ । एकताको बाँकी काम टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा केन्द्रीय निकाय, बिभाग र जनसंगठनको नेतृत्व टुंग्याउने कार्यसूची रहेको छ ।
यसअघि नेकपाको सचिवालय बैठक गत साउन ५ गते बसेको थियो । जिल्ला र महानगरको इञ्चार्ज–सहइञ्चार्ज टुंगो लगाएपछि आज नेकपाको सचिवालय बैठक बसेको हो । आजको बैठकले एकताको बाँकी काम टुंगो लगाउने नेकपाका नेताहरुले बताएका छन । पार्टी स्कूल बिभागको प्रमुखको बिषयमा नेताहरुबीच सहमति जुटन नसक्दा नेकपाको सचिवालय बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच पटक पटक स्कुल विभागको विषयमा सहमतिको प्रयास भएपनि सहमति जुट्न सकेको छैन । अन्तिम बिकल्पको रुपमा दुई अध्यक्षले नै स्कुल विभाग राख्ने गरी छलफलसमेत भएको छ । यस्तै उपप्रमुखमा समेत नेताहरुबीच कुरा मिल्न सकेको छैन् । आजको बैठकले अन्य ३२ बिभागहरुको प्रमुख र जनसंगठनको इञ्चार्ज÷सहइञ्चार्जको भने टुंगो लगाउने गरी बैठकको एजेण्डा राखिएको छ ।
सचिवालय बैठकअघि आजै अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालयमा रहेका पूर्व पार्टीका नेताहरुसँग परामर्श गर्नुभएको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पूर्वएमालेबाट सचिवालयमा प्रतिनिधित्व गर्ने नेतासँग बालुवाटारमा छलफल गर्नुभएको थियो भने प्रचण्डले पूर्वमाओवादीका नेतासँग परामर्स गर्नुभएको थियो । दुवै अध्यक्षले पार्टीलाई सहमतिका साथ अघि बढाउनका लागि के गर्दा उपयुक्त हुन्छ भन्ने सुझाव माग्नुभएको थियो ।
स्कूल बिभागमा सचिवालय सदस्यद्वय इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठसँगै स्थायी समिति सदस्य घणश्याम भुसाल र बेदुराम भुसालले दावी गर्नुभएको छ । यसअघि गत साउन ५ गते बसेको बैठकमा अध्यक्ष ओलीले पोखरेललाई स्कूल बिभाग प्रमुखमा प्रस्ताव गर्दा प्रवक्तासमेत रहनुभएका अर्का सदस्य श्रेष्ठले आफूलाई चाहिने अडान लिनुभएको थियो । आजको बैठकले एकतालाई टुंगो लगाउने बताइए पनि स्कूल बिभागको लफडाले कुनै निर्णय नहुने संभावना पनि देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्