जनता टाइम्स

३० आश्विन २०७९, आईतवार १७:२०

तीन वर्ष बित्नै लाग्दा पनि बनेन पुल


सहजपुर, ३० असोज । सम्झौताको तीन वर्ष बित्न लाग्दा पनि कैलालीको गोदावरी नगरपालिका–९ सेहरीको झोलङ्गे पुल सम्पन्न हुन सकेको छैन । वडाको राजिफाँटा र बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न निर्माण थालिएको उक्त पुलको हालसम्म पिल्लर निर्माण बाहेकका अरु काम हुनसकेको छैन ।

वडा कार्यालयमा सेवा लिन आउने वडावासीले–८ भएर आउनुपर्ने बाध्यता अन्त्य गर्न निर्माण थालिएको उक्त पुलको दुवै तर्फका पिल्लर बनाउने काम मात्रै भएका छन् । पूर्ववडाध्यक्ष लहानु चौधरीले बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न पुल निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले बल्मी र राजिफाँटावासीलाई वडा नं ८ स्याउलेबजार घुमेर वडा कार्यालय जानुपर्ने बाध्यता अन्त्य गर्न पुल निर्माणका लागि माग गरिएकामा सो अनुसार काम सुरु भएपनि ढिलाई भएको बताउनुभयो ।

‘सुरुवाती चरणमा तिब्र गतीमा काम भएको थियो तर पछि काम रोकियो, सामग्री अभाव भएको भन्ने बुझ्नमा आएको छ’, वडाध्यक्ष चौधरीले भन्नुभयो, ’पुल निर्माण भए स्थानीयबासीहरुका लागी छोटो र सजिलोसँग यात्रा गर्न सहज हुन्थ्यो ।’ स्थानीयवासी ठग्गुराम चौधरीले वडा कार्यालयमा सेवा लिनका लागि सहज होस् भनेर बनाइएको पुल छिटो निर्माण हुनुपर्नेमा ठेकेदारको लापर्बाहीका कारण ढिलाइ भइरहेको गुनासो गर्नुभयो ।

‘पारीपट्टि वडाकै दुई वटा टोल छन्, उनीहरुको आवतजावतमा सहजताका लागि पुल बनाइएको हो’, उहाँले भन्नुभयो,‘त्यति मात्रै होइन, हामी थारु समुदायको भल्का पनि उस्तै छ, त्यहाँ पूजा गर्नलाई पनि हामीलाई पुल भए एकदमै सहज हुन्थ्यो । वडावासीको आवश्यकता महसुस गरेर करिब तीन वर्षदेखि सुरु गरिएको पुल हालसम्म पनि निर्माण सम्पन्न नहुनु दुःखद भएको छ ।’

सोही वडाकी कमल पुल रानाले पनि पुल बनेको भए खुटिया नदी पारीपट्टीका राजिफाँटा र बल्मीमा तरकारी बेचबिखन गर्न जान सहज हुने बताउनुभयो । ‘खोलामा पानी कम हुँदा खोला तरेरै पनि तरकारी बेचबिखन गर्न जान्छौँ’, उहाँले भन्नुभयो,‘खोलामा बाढी आउँदा तरकारी बेच्न सकिँदैन, वर्षात्को समयमा बारीमा फलेको तरकारी कुहिने डरले सताउने गर्छ । सेहरीबाट स्याउलेबजार आउने बाटो भए पनि साधन नहुँदा बजारसम्म तरकारी पुर्याउन समस्या हुन्छ ।’

‘पुल भए यताबाट हामीलाई वडा कार्यालय पुग्न एक किलोमिटर लाग्छ,’ राजिफाँटाका गोविन्द नेपालीले भन्नुभयो,‘तर अहिले पुल नहुँदा छ किलोमिटर घुमेर हामीले स्याउले बजारबाट वडा कार्यालय जानुपर्ने बाध्यता छ ।’ उहाँले वडा कार्यालयको कामका लागि मात्रै नभइ वर्षमा अन्नको जोहो गर्न पनि सेहरी धनचौरीतिर जानुपर्ने भएकाले छिटो पुल बने सहज हुने बताउनुभयो ।

वडा नं ९ का अध्यक्ष रामलाल रानाले आफू निर्वाचित हुने वित्तिकै पुलको यथासक्य निर्माणका लागि ठेकेदारलाई निर्देशन दिएको बताउनुभयो । उहाँले ठेकेदारले झोलुङ्गे पुलका लागि लठ्ठा अभाव भएकाले त्यसको जोहो गरेर निर्माण सुरु गर्ने जनाएको जानकारी दिनुभयो । वडाध्यक्ष रानाले भन्नुभयो,‘ठेकेदारले छ महिना समय थप भएको र लठ्ठा अभाव भएकाले विराटनगरबाट लठ्ठा ल्याइरहेकाले मङ्सिरभित्र पुल निर्माण गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’

दुई सय ७९ मिटरको उक्त पुल निर्माणका लागि कैलालीस्थित पूर्वाधार विकास कार्यालयले २०७६ मङ्सिर ८ गते काठमाडौंको खम्पाचे थानी रुबिना जेभिसँग २०७८ जेठ ५ गतेभित्र सम्पन्न गरिसक्ने गरी रु दुई करोड ७० लाख सात हजारको लागतमा ठेक्का सम्झौता गरिएको जनायो ।

कोभिडको महामारी र पुलका लागि आवश्यक सामग्रीको अभावका कारण पुल निर्माणमा ढिलाइ भएको उक्त कम्पनीका ठेकेदार अर्जुन तिमल्सीनाले बताउनुभयो । ‘सुरुमा त कोभिडले समस्या गरयो । त्यसपछि काम सञ्चालन गर्न लाग्दा लठ्ठाको अभाव भयो । त्यसैले समयमै काम हुन सकेन’, उहाँले भन्नुभयो,‘अहिले म्याद थप भएकाले लठ्ठा बाध्ने तथा फलामको पिल्लर बनाउने काम मात्रै बाँकी रहेकाले अब मंसिरसम्म काम सकिन्छ ।’

काम पूरा नहुँदा पनि उक्त कार्यालयले २०७७ चैत ९ गते पहिलो किस्ताबापत रु ५४ लाख १४ हजार आठ सय ५५ र २०७८ असार २१ गते दोस्रो किस्ताबाफत रु एक करोड दुई लाख ५६ हजार नौ सय ५५ गरी जम्मा एक करोड ५६ लाख ७१ हजार आठ सय ५० कम्पनीलाई भुक्तानी दिइसकेको छ । सम्झौता अनुसारको समायावधि सकिएर कार्यालयले थप गरेको समयमा १६ महिना गइसके पनि निर्माण कम्पनीले लठ्ठा ल्याएर फाल्ने बाहेक अरु काम गर्न सकेको छैन ।

अन्ठाउन्न प्रतिशतभन्दा बढी रकम पाइसकेको निर्माण कम्पनीले थप भएको समयको हालसम्म काम सुरु नगर्दा पनि सम्बन्धित निकाय भने मौन छ । उक्त कार्यालयका सव इञ्जिनीयर विनोद खड्काले निश्चित समयावधिमै निर्माण सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले झोलुङ्गे पुलका लागि लठ्ठा अभाव भएको जनाएको बताउनुभयो ।

उक्त झोलुङ्गे पुलजस्तै उक्त निर्माण कम्पनीले कैलालीकै कान्द्रा, खोनपुर र ट्याना नदीमाथि झोलुङ्गे पुल निर्माण गर्न सोही कम्पनीसँग सम्झौता गरेको कार्यालयका सव इन्जिनीयर खड्काले बताउनुभयो । ती सबै झोलुङ्गे पुलको पनि निर्माण सम्पन्न भएको छैन । झोलुङ्गे पुलका लागि बनाइएको पिल्लर नजिकसम्म खुटिया खोलाले कटानी गरिसकेको छ ।

कटान गरिएको ठाउँमा तटबन्ध नगरिए पुल बन्नुभन्दा अगाडि नै खोलाले लैजान सक्ने सम्भावना उत्तिकै छ । पुलभन्दा अगाडि खोलाको क्षेत्रमा बलियो तटबन्ध गरेमात्रै पुललाई जोगाउन सकिने अवस्था रहेको छ । हिउँदको समयमा खोलामा खासै पानी नभए पनि वर्षायाममा आउने बाढीले पुललाई जोखिममा पार्न सक्ने स्थानीयवासीको गुनसो छ ।