जनता टाइम्स

११ कार्तिक २०७९, शुक्रबार ११:०७

चुनावमा अभिषाप बन्यो झलनाथको त्यो गाली


इलाम, कात्तिक ११ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई आफ्नै बोली चुनावका लागि निकै महंगो सावित भएको छ ।

इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा सातौं पटक प्रतिस्पर्धा गरिरहनुभएका पूर्वप्रधानमन्त्री खनाल नेपाली कांग्रेसलाई धोकेवाज भन्ने अभिब्यक्ति अहिले निकै महंगो सावित भएको हो ।

आफ्नो सानो समूहको माझमा नेपाली कांग्रेसको ७५ प्रतिशतले जित्नुपर्ने खनालका लागि स्थानीय निर्वाचनपछि कांग्रेसका कार्यकर्तालाई गरेको ‘गाली’ चुनावमा गलपासो बनेको छ । खनालसँग इलाम नगरपालिकाका पूर्वमेयर तथा लोकप्रिय नेता महेश बस्नेत प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

स्थानीय तह निर्वाचन पछि खनालले सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाका कांग्रेस कार्यकर्ताले गठबन्धनलाई धोका दिएको भन्दै एक टेलिभिजनमा अन्तर्वार्ता दिनुभएको थियो । सो चुनावपछि खनाल कांग्रेसप्रति निकै आक्रामक बन्नुभएको थियो । खनालको त्यो आक्रोश अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । खनालले अन्तरवार्ता दिँदै ‘कांग्रेसले आफ्ना उम्मेदवारलाई धोका दिएको’ बताउनु भएको थियो ।

आफ्नो क्षेत्रको सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका, माइ नगरपालिका र सूर्योदय नगरपालिकामा सत्ता गठबन्धनका तीन दल कांग्रेस, नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रका कार्यकर्ताको संयुक्त भेलामा पनि कांग्रेस कार्यकर्ताले झलनाथको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन ।

माइजोगमाई गाउँपालिका– १ का नेपाली कांग्रेसका वडा सभापति चित्र थामिले खनाललाई अघि राखेर भन्नुभयोे ‘तपाईको आरोपले मन दुखेको छ, चिक्त बुझ्ने जवाफ दिनु।’

चुनावी अभियानमा जानु अघि आफ्नु अभिव्यक्तिलाई ‘परिस्थतिजन्य अभिव्यक्त’ भन्दै फुत्किनुभएका खनाल अहिले भने आफ्नो भनाई ‘फिर्ता लिएँ’ भन्न थाल्नुभएको छ । भाषणमा केही राजनीतिक र केही विकास निर्माणका सूची सूनाएपछि खनालले माफी माग्दै भन्नुभएको छ, ‘मेरो कुराले तपाईहरुको मन दुखेको भए फिर्ता लिन्छु।’

इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका खनाल अहिलेसम्मका निर्वाचनमा एक पटकबाहेक सबैमा विजयी पनि भएका छन्। यस पटक कांग्रेसको मत पाएनन भने खनालको निरन्तरता भत्कने खतरा छ ।

३१ वर्ष कांग्रेससँग प्रतिस्प्रर्धा गर्नुभएका खनाललाई धेरै कांग्रेसी नेता कार्यकर्ता मन पराउँदैनन । त्यसैले चुनावी अभियानमा खुलेर लाग्ने कांग्रेसका केही जिल्लास्तरका कार्यकर्ताबाहेक अरु छैनन।

यसअघि खनाललाई काँधमा बोक्ने नेकपा (एमाले) चाँही खनालसँग प्रतिस्पर्धी छन । कुनै बेलाका खनालका विश्वास पात्र, इलाम नगरपालिकाका पुर्व मेयर महेश बस्नेतसँग खनालको प्रतिस्पर्धा हुने देखिन्छ। खनाललाई आफ्नै बोली पासो बनेर अगाडि रहँदा एमाले उम्मेदवार महेश बस्नेतको पक्षमा भने माहोल निकै उच्च बिन्दुमा पुगेको छ । मतदाताबीच लोकप्रिय बस्नेतलाई कांग्रेस नेताहरुको समेत साथ रहेको छ ।

३१ वर्षयता निरन्तर सूर्य चिह्नमा भोट मागेर खनाललाई भोट हाल्न नचाहनेका लागि वैकल्पिक ठाउँ दिएको भन्दै चुनावी मैदानमा स्वतन्त्र उम्मेद्धारका रुपमा आएका कांग्रेसका पुराना नेता विक्रम पाण्डेको उपस्थितिले समेत खनाललाई सकस बनाएको छ ।

इलाम क्षेत्र नम्बर १ बाट जनता समाजवादीका कमलकुमार राई, नेपाली कांग्रेस (बिपी)का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मी पनि उम्मेदवार हुनुहुन्छ ।