रामेछाप, १३ कात्तिक । गाँउघरमा फेरी लगाएर आफ्नो जीविकोपार्जन गर्ने रामेछाप र दोलखाका जोगीको पेशा सङ्कटमा पर्न थालेको छ । बुढापाका पेशा गर्न नसक्ने र युवापुस्तामा पेशाप्रति लगाव नहुँदा उनीहरुको पुर्ख्यौली पेशा सङ्कटमा पर्न लागेको हो । जोगीहरुले कात्तिक र चैतमा रातिको समयमा घरघर पुगेर मन्त्रोचारण गर्दै फेरी लगाउने गर्दछन् ।
रातभर फेरी लगाउने र भोलिपल्ट सङ्कलित सिदा (चामल तथा नगद) ले जीविकोपार्जन गर्दै आएका उनीहरुको पेशा यतिबेला सङ्कटमा पर्न थालेको छ । फेरी लगाएर जीविकोपार्जन गर्न समस्या हुन थालेपछि यो लोप हुन थालेको उनीहरुको भनाइ छ ।
‘सरकारी निकायबाट जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था होस् भन्ने हाम्रो अपेक्षा छ’, रामेछापका गणेशबहादुर जोगीले भन्नुभयो । ‘हामीहरुले यो पेशालाई पहिले जीविकोपार्जनको माध्यम बनाएका थियौँ, तर अहिले त्यो अवस्था छैन’, दोलखाका मोहनबहादुर जोगीले भन्नुभयो,‘तर कतैबाट कहीकतैबाट सहयोग नहुँदा चिन्ता लागेको छ ।’
विभिन्न मत्रोचारण गर्दै प्रत्येक घरको चार सुर घुमेर फेरी लगाउदा घरमा शान्ति, सद्धभाव कायम हुने, भुत, प्रेतले दुःख नदिने बालबालिका र चौपायालाई समेत राम्रो हुने विश्वास छ । सिदा उठाउन आउने जोगीलाई नाङ्लोमा धान, मकै, चामल, घिउ, कुभिन्डो फलाम, नून, बेसार तरकारी, फलफूल, पानी र कालो कपडासमेत राखी दियो बाली दान गर्ने चलन छ ।













प्रतिक्रिया दिनुहोस्