बुटवल १६ कात्तिक । गठबन्धनमा चुनावपछि रडाको हुने निश्चित देखिएको छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रडाको हुने निश्चित अहिल्यै देखिएकोछ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताउनुभयो ।
भर्खर हिजो मात्रै दाहाल प्रचण्डले अबको प्रधानमन्त्री तपाई नै हो भनेर भनेको भन्दै भाषण गर्नुभएको थियो । महतले निर्वाचनपछि सबैभन्दा धेरै सिट कांग्रेसले ल्याउने भएको र त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने बताउनुभयो ।
कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएको प्रवक्ता डा. महतले १६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदार भएकोले अन्य पार्टीभन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
आज रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता डा. महतले तत्कालीन समयमा बहुमतको नेकपा सरकार हुँदा नागरिकले धेरै दुःख पाएको भन्दै गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मुल्यांकन गर्न जिकीर गर्नुभयो । पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले पनि जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदाहरु जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘पाँच वर्षअघि समेटिएका पानी जहाज, पाइपलाइन ग्याँस र रेलजस्ता कुराहरू कार्यान्वयनभन्दा पनि फगत मात्रै भएको सरकार चलाउँदा पुष्टि भइसकेको छ ।’ एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ । एमालेले जारी गरेको घोषणा पत्रमा पनि रेल सञ्चालन गर्ने र कांग्रेसले ल्याउने रेल एउटै हो की फरक हो भन्ने पत्रकारहरुको जिज्ञासामा प्रवक्ता डा.महतले भन्नुभयो,‘हामीले चलाउने भनेको आन्तरिक यातायातको लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक छैन । हामी ऋण काढेर रेलमा लगानी गर्ने पक्षमा छैनौं ।’













प्रतिक्रिया दिनुहोस्