काठमाडौं, पुस १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड बालकोट हिँडे भन्दै बालुवाटारबाट बाहिरिनु भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पावर शेयरिङमा कुरा नमिलेपछि माओवादी अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटन बालकोटतर्फ लागेँ भन्दै हिडनु भएको हो । आजको छलफलमा देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाडने बटमलाइन सुनाउनु भएो थियो ।
प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राख्नुभएको राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीन पार्टीलाई बाँडनु पर्ने प्रस्तावलाई ठाडै अस्वीकार गर्दै देउवाले दुवै पद आफूहरुले नै लिने बटमलाइन सुनाएपछि प्रचण्ड चिढिनु भएको हो । उहाँले देउवालाई सहमति तोडेर धोका दिएको भन्दै अव ओलीसँग कुरा गर्छु भन्ने धम्की दिनुभएको थियो । सो लगत्तै प्रचण्ड अव बालकोट हिँडे भनेर बालुवाटार छाडनु भएको हो ।
प्रचण्डले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटने समेत जनाउ देउवालाई दिनुभएको छ । प्रधानमन्त्रीलाई बटमलाइन बनाउनु भएका प्रचण्डले गठबन्धन टुटेको घोषणा भने गर्नुुभएको छैन । एमाले कार्ड देखाएर प्रधानमन्त्री लिन उहाँ बालकोटतिर हिडेको बताउनु भएको हो ।
माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि सत्तागठबन्धन भत्किने दिशामा अघि बढेको छ । सत्ता गठबन्धनभित्र शक्ति संघर्षको लडाई चरम बिन्दुमा पुगेको छ । चुनावमा गठबन्धन गरेर लडेका दलहरु राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको बिषयलाई लिएर गठबन्धनका प्रमुख तीन दलका नेताहरु आफ्नो अडानमा कायम रहेपछि गठबन्धन नै संकटमा परेको हो ।
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै राखेर गठबन्धन कायम राख्न नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई प्रस्ताव गरेको छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई मुख्य तीन संवैधानिक पद तीन पार्टीलाई मिलाउनु पर्ने बटमलाइन सुनाउनु भएको छ ।
प्रचण्ड र माधवले प्रधानमन्त्री देउवालाई राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एक–एक पार्टीलाई बाँड्न प्रस्ताव गर्नुभएको हो । सत्ता गठबन्धन कायम राख्न बालुवाटारमा भएको छलफलमा प्रचण्ड–माधवले यस्तो बटमलाइन सुनाउनु भएको हो । ‘तीन पदमा तीन पार्टीलाई एउटा–एउटा गरेर लिऔँ । कांग्रेस ठूलो दल भएकाले पहिला उसले रोजेर लिन्छ । त्यसपछि दुई पद हामी मिलाएर लिन्छौँ । नेताहरूले यही प्रस्ताव गर्नुभएको छ,’ देउवासँग माधव र प्रचण्डको भनाई थियो ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीको दावी पेश गर्न दिनुभएको समय सकिन लाग्दा अहिले बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरू निर्णायक छलफलमा जुटनु भएको छ । सोही छलफलमा प्रचण्ड–माधवले एक/एक पद लिन प्रस्ताव गर्नुभएको हो । तर प्रधानमन्त्री देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसमै हुनुपर्ने अडान दोहोर्याउनु भएको छ ।
कांग्रेस अडानबाट ब्याक नभए गठबन्धन टुट्ने प्रचण्डले बताइसक्नु भएको छ । प्रचण्ड र माधवले आफूहरुको प्रस्ताव स्वीकार नगरे गठबन्धनबाट अलग भएर नेकपा एमालेसँग मिल्ने धम्कीसमेत देउवालाई दिनुभएको छ । तर एमाले भने अहिलेसम्म सत्ताको बिषयमा पर्ख र हेरको नीतिमा रहेको देखिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार मात्रै समयमै कदम नचालेको कारण प्रचण्ड प्रधानमन्त्री हुने संभावना सामान्यत सकिएको निश्कर्ष सुनाउनु भएको थियो । ओलीको यस्तो भनाई आउँदा पनि प्रचण्ड देउवाले आफूहरुको भनाई नमाने एमालेसँग मिल्ने दावी गरिरहनु भएको छ । तर देउवाले प्रचण्ड–माधवलाई राष्ट्रपति–प्रधानमन्त्री कांग्रेसलाई दिएर गठबन्धन जोगाउने बटमलाइन सुनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्