यस पटकको निर्वाचन, मुलतः कमरेड केपी ओलीको शब्द सापट लिएर भन्नु पर्दा, उमेदवारहरू र पार्टीहरू बिचको जित हार र सत्ता प्राप्तिको सामान्य प्रतिस्पर्धा थिएन । यो उमेदवारहरूको होइन, देश र जनताको जित र हारको सवाल थियो
गोविन्दप्रसाद ज्ञवाली
यो निर्वाचन, मुलुकको रक्षा, नेपाली जनताको स्वाभिमान र समृद्धिका लागि, रास्ट्रवादी, प्रगतिशील, देशभक्तहरुको साथमा सच्चा वामपन्थी शक्ति नेकपा एमालेको नेतृत्वमा संचालित, रास्ट्र निर्माणको अभियानको बाधक तत्व, बिकाश बिरोधी, दलाल नोकरशाही, बैदेशिक शक्ति केन्द्र तथा मुलुक भित्रको त्यो लम्पसारवाद र आम नेपाली जनताको जनजीवीकाप्रतिको गैरजिम्मेवारिता, बेथिती, बिसंगती जस्ता प्रवृत्ति र तात्कालिक गठबंधनका गलत क्रियाकलाप बिरुद्धको शीत युद्ध थियो ।
देश र जनताको आत्मसम्मान ,स्वाधिनता र भौगोलिक अखण्डताको रक्षा र ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने माहान लक्ष्यमा कृयाशिल पक्ष र त्यसको बाटो अवरुद्ध गर्ने अथास्थितिबादी तथा अवसरबादी र प्रतिक्रियावादी तत्वहरु बिचको निर्णायक लडाइ थियो, सम्पन्न निर्वाचन ।
एकीकृत समाजवादीमाथि जनकारवाही
पद र प्रतिस्ठाको लागि, आफ्नो बिरासत इतिहास, कर्तब्य र निष्ठालाई तिलान्जली दिदै आफ्नो घर र दीर्घकालीन अभियानको सवारी साधनमा आगो लगाई आफ्नै बिरोधी पक्षको कित्तामा टाँसिने, उनिहरुकै भलो र पक्षपोषणमा सक्रिय, एमालेबाट चोइटिएर बिरोधी कित्तासंग गठबन्धन गर्न पुगेका राजनीतिकरूपमा बिचलित केही थान कम्युनिस्ट साथीहरुलाई जन–अदालतले नै ठेगान लगाइ दिएको छ । उनीहरूको लागि यो निर्वाचन, आफ्नो अस्तित्वलाई संकटमा पुर्याउने अस्त्र बन्यो ।
निर्वाचनपछि, आफ्नो पार्टी पहिलो हुनेछ, भन्न पछि नपर्ने कमरेड माधव नेपालको समूहको पार्टी नेकपा एकीकृत समाजबादी, राष्ट्रिय पार्टीसम्म बन्ने हैसियत राखेन । जिन्दगीभर चुनाव नहारेका नेकपा एमालेको अध्यक्ष भएर पार्टी नेतृत्व गरेका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालजस्ता नेताले आफ्नै शिष्य नेकपा एमालेका स्थानीय स्तरका नेताबाट हार ब्यहोर्नुपर्यो । आफुले नेतृत्व गरेको पार्टीलाई ध्वस्त पार्न लागी पर्ने कमरेड खनाललाई आफ्नै निर्वाचन क्षेत्रका जनताको अभिमतको फैसलाले दन्डित गरी दियो ।
आफ्नो ईतिहास बोकेको पार्टी छोडेर, आफ्नै बिरासतको घर भत्काएर दुश्मनसंग गला जोड्न बढी चुरिफुरी गर्ने बिरोध खतिवडादेखि लिएर मुखमा टेप लगाएर, बडो रोमान्टिक स्टन्ट गर्ने हाम्री चेली बहिनी रामकुमारी झांक्रीलगायत थुप्रै समाजबादी नेतालाई जनताले नै दह्रो जनकार्बाही गरेका छ्न । यता अघिल्लो पटक, एमाले पार्टीभित्र भएको गुटको लडाइमा, जसोतसो अडिएर बसेका हाम्रा नेता कमरेड घनश्याम भुषालजी, टिकट नपाएको झोकमा, स्वाट्ट गठबंधनको सहयोगमा चुनाब जितेर देखाउने भन्दै एक्कासी हाम फाल्दा, एमालेकै नेतासंग हार खानु परो, बिचरा ! ‘चोक्टा खान गएकी बुढी, झोलमा डुबेर मरी’ भने जस्तै भयो ।
सिङ्गो पार्टी, नेकपा एमालेबाट चोइटिएर गएका केही जनाको समुह जोडिएर बनेको पार्टी , कुनै एक अर्को पार्टी जोडिएको छैन, त्यो पार्टिको नामकरण छ, नेकपा एकीकृत समाजबादी अनि संगत र कार्यदिशा जोडिएको छ, नेपाली कांग्रेससंग । कांग्रेससंग २० वर्ष गठबंधन गरेर समाजबादमा पुग्ने रे । कसरी र के आधारले जनताले भोट दिने त उहाँहरुलार्इ ? एक्लै,आफ्नै बुतामा,चुनाब लड्ने हो भने रास्ट्रीय पार्टी हुने त टाढाको कुरा, १ सिट पनि जित्ने हैसियत छैन ।कम्युनिस्ट समर्थक जनता र कार्यकर्ताले पार्टीको हितमा कस्ले के गरेका छ्न भन्ने कुरा बुझ्दछ्न भन्ने हेक्का भएन होला ! निर्वाचनमा १० सिट, कांग्रेससंग पैचो लिएको भोट पाएर होला, त्यसकै घमण्डले, अझै घैंटामा घाम लागेको जस्तो छैन ।
लाजै पचाएर भन्न पछि पर्नुहुन्न, हाम्रो कर्म र त्यागले एमालेले धेरै मत पाउन सक्यो भनेर। तेस्तो भन्न सक्ने मान्छे किन एमालेलाई सिध्याउन लागि परेको त ? निर्वाचनमा जनताले पार्टी छोडेर भागे बापत डण्डाले सोठ्याउदा पनि अहिलेसम्म प्रचण्डलाई गाली गर्दै गठवन्धन टिकाएर कांग्रेससँगै लतारिने बहसमा सामेल छन, समाजबादिका केही नेताहरू । अध्यपी, धेरै नेताहरूको दिमाग तातेको छ, पार्टी एकीकरण गरी वाम आन्दोलन एकीकृत हुनुपर्छ, आफ्नै घर एमालेमै फर्किनुको बिकल्प छैन भन्ने सदबुद्धी पनि फिरेको जस्तो लाग्छ । जे होस, यो बिचारले त्याँहा प्राथमिकता पाएछ भने, नेकपा एमालेले ढोका बन्द गरेको छैन, निशर्तरूपमा पार्टीमा जोडिन वा एकिकरण गर्न सकनोस ! कुन्ठित मानसिकतावाट मुक्त हुनुहोस् ! शुभकामना छ ! जनताको आदेश पनि त्यही अनुरुप छ ।

नेकपा माओबादी केन्द्रलाई नियन्त्रण र परिस्कृत हुन जनादेश
सम्पन्न निर्वाचनले गठबन्धनको प्रेरक शक्ति माधव नेपाल ग्रुपलाई मात्र नभएर, माओबादी पार्टीलाइ पनि छाँट्ने र सवक सिकाउने काम गरेकोछ ।, उग्रवामपन्थी भडकाव, जनयुद्धको क्रममा युद्ध अपराधपूर्ण गम्भीर गल्ती, अनियन्त्रित युद्धशैली, जनयुद्धमाथी बिदेशिहरुको घुसपैठ र उपयोगको सिकायत, मुख्य दुश्मनको सही निशाना र लक्ष्य उन्मुख हुन नसक्ने जस्ता गम्भीर कमजोरीले गर्दा ,जनयुद्धको कम उपलब्धि र बढी नोक्सानी बेहोर्दै आएको पार्टी नेकपा माओबादि केन्द्र, स्वयं आफुलाइ रुपान्तरण गर्दै बृहत शान्ती सम्झौता मार्फत जनआन्दोलनले निर्धारण गरेको बाटोमा आउँदा, व्यापक नेपाली जनता, शान्तिपूर्ण आन्दोलनमा लागेका पार्टीहरू र शुभचिन्तकहरु खुशी र हर्षेल्लित भएका थिए ।
सोही अनुरुप माओवादी पार्टीलाई,निरंकुकुस राजतन्त्रको अन्त्य र लोकतान्त्रिक शासन ब्यबस्थाको स्थापनापछि सत्तामा पुर्याएका थिय । त्यसरिनै निर्वाचनको परिणाम पश्च्यात, अहिले, विपक्षी पार्टीसंग गरेको गलत सम्झौता र गठवन्धन तोडी बाम आन्दोलनको नेतृत्वदायी भूमिकालाइ पछ्याउँदै जिम्मेवार शसक्त पार्टी नेकपा एमालेको आह्वानमा सरकार निर्माण गर्ने तहमा आउंदा फेरि एकपटक नेपाली जनताले स्वागत र प्रशसा गरेका छन । अध्यपी, माओबादीको बिगत, बिवादास्पद र आलोचनात्मक छ । बृहत शुद्धीकरण र आत्म समिक्षाको आवश्यकता छ ।
हिजो, देशको आवश्यकता र जनताको चाहना अनुरूप नेकपा एमालेको नेतृत्वमा वामपन्थीहरूको ध्रुविकरण र एकताको एउटै पार्टी नेकपा निर्माण गरेर अगाडि बढ्दा जनताले अभिब्यक्त गरेको अपार समर्थन र झन्डै दुई तिहाइ अभिमतको अपमान गर्दै आफ्नै अध्यक्षलाई बिना कारण टक्कर लिने र अबान्छित र झुट्टा आरोप लगाउँदै आफ्नै पार्टीकै नेतृत्वको दुइतिहाइ बहुमतको सरकार ढाल्ने मुख्य कारक ब्याक्ति, माओवादी पार्टी र नेकपा एमालेकै शिर्ष नेताहरू बिशेष गरी प्रचण्ड र माधव कमरेड नै हुनुहुन्थ्यो ।
उहाँहरूबाट इतिहासमै दर्ज हुने गम्भीर गल्ती भएको थियो । पार्टी भित्रको विवाद बढाएर आफ्नै पार्टीको सरकार गिराउनेसम्मको हर्कत र प्रधानमन्त्रीलाई संसद विघटन गरेर नयाँ जनादेशमा जानुको कुनै विकल्प नहुने अवस्थामा पुर्याउने मात्र होइन, आफ्नो पार्टीले नेतृत्व गरेको सरकार लगेर प्रतिपक्षीलाई बुझाउने जस्तो बामआन्दोलन प्रतिको गद्धारी, धोका र मतदाताप्रतिको अपमान गर्ने कार्य सानो गल्ती थिएन ।
‘सौताको रिसले पोइको नाक काट्ने’ उखानको चरितार्थ गर्दै, पार्टी भित्र बसेर आवश्यक परे, आफु वा अन्य बैकल्पिक नेतृत्व खडा गरेर पार्टीलार्इ शुदृढ गर्दै, सरकारको निरन्तरता दिनुको सट्टा उल्टै हुँदाखाँदाको आफ्नो एकमना बलियो सरकारलाई लगेर बिपक्षी पार्टीलाइ बुझाउने काम मात्र गरे । मुलुकको स्वाभिमान र अस्तित्वलाई संकट्मा पुर्याउने र सेटिङ्गमा देश लुट्ने, काहाली लाग्दो आर्थिक संकट निम्त्याउने काममा सहभागिता जनाए ।
जनताले माया गरेर सत्तामा पुर्याएको सुरक्षित र स्थायी सरकारको नेतृत्वलाई कांग्रेसको जिम्मा लगाए । यसरी लोकतान्त्रिक बाम गठबंधनको आत्मघाती संयन्त्र निर्माण गरी, माधव नेपालको उक्साहटमा लागेर अझै गहिरो दक्षिणपन्थी खाडलमा जाकिने गल्ती माओवादी पार्टी र यसको नेतृत्वले गर्यो । जस्ले गर्दा मुलुकलाई करिब तीन वर्ष थप नोक्सानी र अधोगतिमा धकेल्यो ।
आखिर बाम आन्दोलनको त्यो दोश्रो शक्ति, जो, गलत तत्वहरुकै उक्साहट र कुलतमा लागेर गठबन्धनको मुख्य पात्र बनेको थियो । त्यसलाईसमेत यस निर्वाचनले तोडेर, वाम आन्दोलनको मुलधारको बाटोमा आउने बाध्यात्मक परिस्थिति सृजना गरिदियो । गठवन्धन तोड्न नेकपा एमाले अध्यक्ष कमरेड केपी ओलीबाट कुशल र सकारात्मक भूमिका निर्बाह गर्नु भएको र गठबंधनभित्र नेपाली कांग्रेस नेतृत्वले नयां सरकारको गठन गर्न संयोजन गर्न नसकेको कारण, कमरेड प्रचण्डले नै गठवन्धन तोडेको घोषणा गर्नुभयो ।
आफ्नो पार्टीबाट भएको गम्भिर बिचलन र कमजोरीलाई आत्मसात गर्दै, आफुलाइ पूर्णतः रुपान्तरण गर्ने बाचासहित, कम्युनिस्ट आन्दोलनका अबिचलित नेता, रास्ट्रकै धरोहर, पूर्वप्रधानमन्त्री कमरेड केपी ओलीज्यू संगै सहकार्य गर्न तयार हुनुभएको छ । कमरेड केपि ओलीको आमन्त्रणमा, नेकपा एमालेको अभिभाबकत्व र सहभागितामा दुई प्रमुख कम्युनिस्ट पार्टीहरूसहितको वामपन्थी शक्ति र अन्य देशभक्त र रास्ट्रबादी साना पार्टीहरूको समिकरण गरी सरकारको नेतृत्व गर्ने पहलकदमी गरेर बिगतको गम्भिर गल्ती र अपराधको प्रायश्चित गर्न सफल हुनुभएको छ। बधाई छ ! कमरेड प्रचण्ड र सम्पूर्ण माओवादी पार्टीका नेता, कार्यकर्ताहरूलाई ।
यो अद्भुत सफलतालाई अन्तिम निश्कर्षमा पुर्याउन, अब वाम एकतालाई बलियो बनाउँदै सरकारलाई, सफलता पूर्वक निरन्तरता दिने र यो सहकार्यलाई सकेसम्म पार्टीको एकतामा परिणत गर्ने साहस बटुल्न सक्नु भयो भने एकपटक बिग्रिएको इतिहासलाई सच्च्याउंदै पहिलेकै ठाउँमा पुर्याउन सफल हुनुहुनेछ । वामपन्थी पार्टीको सरकारलाई स्थायित्व दिन, सरकारलाई ढुक्कसँग बाँकी ५ वर्ष टिकाउन र अर्को ५ वर्षको सफलताको लागि आधार तयार गर्न नेकपा एमाले र आफ्नो पार्टीबीचचको सम्बन्धलाई स्वस्थ्य र सुदृढ गराउनु पर्ने आवश्यकतालाई बुझ्न जरुरी हुनेछ । दुई पार्टीबीचको सम्बन्धलाइ सक्षमरूपमा अगाडि लैजान पर्दछ । यसले प्रचण्ड र माओवादी पार्टीको उचाइ बढ्ने कुरालाई निर्धारण गर्नेछ ।












प्रतिक्रिया दिनुहोस्