सोलुखुम्बु, चैत २९ । बिश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पा आरोहीको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको हो ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले हिमपहिरोमा पुरिएका तीनै जनाको मृत्यू भएको बताउनु भयो । सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा खुम्बु पासाङल्हामु गाउँपालिका ५ छेसोका ३२ वर्षीय तेम्बा तेन्जि शेर्पा, सोही स्थानका २२ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे शेर्पा भनिने दा छिरि शेर्पा रहेका छन् ।
इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका उनीहरुको आज बिहान मृत्यु भएको हो । बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार शव निकाल्ने प्रयाश भइरहेको छ शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ ।
पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु सगरमाथा हिमालको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउन प्रयोग हुने डोरी लगायतका सामग्री ओसार्ने जिम्मेवारीमा थिए ।
विभागका अधिकृत विज्ञान कोइरालाका अनुसार बिहान ९ः३० बजे भएको यो घटनामा उनीहरुको खोजीका लागि तीनपटक सिम्रिक एयरको हेलिकोप्टर परिचालन गरिएको थियो ।
यसपटक विभागले सगरमाथा आरोहणका लागि सोमबारसम्म २४ वटा आरोहण दललाई अनुमति दिएको छ । यसमा ४१ महिलासहित २ सय ४३ जना सदस्य छन् । सोमबारसम्म विभागले २१ वटा हिमालका लागि ६६ वटा आरोहण दललाई अनुमति जारी गरिसकेको र ५ सय ५९ जना रहेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्