जनता टाइम्स

२७ बैशाख २०८०, बुधबार १४:५८

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रस्ताव : प्रदेशमा ७ र संघमा १५ मन्त्रालय राखौं, जिसस खारेज गरौं


काठमाडौं, बैशाख २७ । नेकपा एमालेका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले फजुल खर्च घटाउने कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद् गुरुङले फजुल खर्च घटाउन सरकारले योजना बनाएर अघि बढ्नुपर्ने बताउनु भएको हो । ‘फजुल खर्च घटाउन प्रदेशमा ७ र संघमा १५ वटा मन्त्रालय राखौं । जिल्ला समन्वय समिति खारेज गरौं,’ उपमहासचिव गुरुङले भन्नुभयो ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका गुरुङले संकटमा गएको अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च वृद्धि गर्नु अहिलेको आवश्यक रहेकोतर्फ पनि सरकारको बिशेष ध्यानाकर्षण गराउनु भयो ।

भ्रष्टाचार नियन्त्रण र पुँजीगत खर्चको अभिवृद्धि गर्नुपर्ने उहाँको भनाई थियो । अहिले पनि पालिका तहमा स्वास्थ्य पूर्वाधार व्यवस्थित हुन नसकेको भन्दै सो काम अबिलम्ब हुनुपर्ने बताउनु भयो । उहाँले संघीयताको सवलीकरण गर्न संघीय प्रहरी सेवा ऐन र निजामती सेवा ऐन जारी गर्नुपर्ने सुझाव पनि दिनुभयो ।