जनता टाइम्स

४ असार २०८०, सोमबार १२:११

माधवलाई झलनाथको काउन्टर : समाजवादी मोर्चा घोषणासभामा नजाने घोषणा


काठमाडौं, असार ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बलियो बनाउन गठन गर्न लागिएको समाजवादी मोर्चा घोषणाअगावै बिवादमा परेको छ ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मोर्चाको लक्ष्य र उदेश्य नै उचित नभएकोले आफू सहभागी नुहुने घोषणा गरेसँगै मोर्चा नजन्मदै बिवादमा परेको हो । मोर्चाको घोषणालाई लिएर एकीकृत समाजवादीका नेता खनालले चर्काे असन्तुष्टीसमेत जनाउनु भएको छ ।

माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणासभा आज सोमबार अपरान्ह ४ बजे राखिएको छ । त्यसअघि प्रतिवद्धता पत्रलाई अन्तिम रुप दिन बसेको चार दलका नेताहरुको बैठकमा खनालले आफू नआउने घोषणा गरेर हिडनु भएको छ ।

बैठकमा एकीकृत समाजवादीका नेता खनालले मोर्चाको प्रधान शत्रु को हो हो भनेर प्रश्न गर्नुभएको थियो । नेताहरुले अहिले मोर्चाको उद्देश्यहरु तय गरेको र अरु विषय छलफल गर्दै जाने बताएपछि खनाल म आउँदिन भनेर बैठक नै छाडेर हिडनु भएको हो ।

खनालले प्रधान सुत्र नतोकी मोर्चामा नबस्ने अडान राख्नुभएको थियो । ‘यस्तो मोर्चाको औचित्य छैन, म आजको कार्यक्रममा पनि आउँदिन भनेर उहाँ हिड्नु भयो,’ बैठकमा सहभागी एक नेताले भने ।