जनता टाइम्स

२६ असार २०८०, मंगलवार ११:१०

काठमाडौं महानगरले २० वर्षपछि खुलायो सेनाको नियन्त्रणमा रहेको बारूदखानाको बाटो


काठमाडौं, असार २६ । काठमाडौं महानगरपालिकाले नेपाली सेनाको नियन्त्रणमा रहेको स्वयम्भू बारूदखानाको बाटो २० वर्षपछि खुला गरेको छ।

बारूद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मुल सडकसँग जोडिने सडक खुला गरेको महानगरपालिकाले बताएको हो। जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षको अवधिमा सडक सञ्चालनमा आएको थिएन। महानगर प्रमुख बालेन शाहले प्रधानसेनापतिलाई भेटेर पहल गरेपछि बाटो खोल्न सहज भएको हो ।

‘गत साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा व्यवस्थापन उपसमितिका संयोजक बालेन शाहले फिल्ड निरीक्षण गर्नुभयो। नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधान सेनापतिसँग भेटेर समाधानका लागि छलफल गर्नुभयो। यसपछि सडक खोल्ने वातावरण तयार भयो। अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मुल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ,’ आयोजना प्रमुख निर्मलराज बरालले भन्नुभयो ।

काठमाडौं महानगरपालिका वडा नं १५ र १६ भित्र पर्ने आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा रहेको छ । २०६० साल वैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न थालिएको हो । आयोजनाभित्रको ७२ प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्टयाइएको छ।

२४.४७ प्रतिशत सडकका बाँकी पार्क तथा खुल्ला क्षेत्र, धार्मिक तथा सांस्कृतिक क्षेत्र र भचाखुशी नदीका लागि छुट्ट्याइएको छ। एकीकरण योजनाको माध्यमबाट जग्गा विकास गरी सम्बन्धित जग्गा धनी तथा मोहीलाई सुविधा सम्पन्न घडेरी फिर्ता दिनु आयोजनाको मुख्य ध्येय रहेको महानगरले बताएको छ।