जनता टाइम्स

२२ श्रावण २०८०, सोमबार १८:३३

शीर्ष नेताबीचको दोस्रो बैठक पनि निष्कर्षहीन, दुवै पक्षको अडान यथावत


काठमाडौं, साउन २२ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको दोस्रो बैठक पनि निष्कर्षहीन बनेको छ। नयाँ बानेश्वरमा सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठक निष्कर्षविहीन बनेको हो। सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूको अडान यथावत कायम रहेपछि बैठक अनिर्णित हुन पुगेको हो।

सभामुख घिमिरेले संसद बैठक सञ्चालनका लागि नेताहरूबीच गम्भीर छलफल भएको बताउनु भयो। संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गम्भीर छलफल भए पनि सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न नसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक मंगलबार विहान १० बजे बालुवाटारमा बैठक बोलाइएको छ। ‘भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ। आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरूबीच सहमति हुनेछ,’ घिमिरेले भन्नुभयो ।

सभामुख घिमिरेले सहमतिको विकल्प नभएको बताउनु भयो । ‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन्। माननीयहरूले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन। मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु,’ घिमिरेले भन्नुभयो ।