जनता टाइम्स

२५ श्रावण २०८०, बिहीबार १४:१७

गगन थापाको निर्वाचन क्षेत्रमा महानगरका प्रहरी र स्थानीयबीच झडप, वडाध्यक्षमाथि नगर प्रहरीको दुर्ब्यवहार


काठमाडौं, साउन २५ । काठमाडौं महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न आएपछि झडप भएको हो ।

महानगरको सो कामको स्थानीयले विरोध गरेका छन । काठमाडौं १० र बूढानीलकण्ठ ७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरी बनाइएका अनाधिकृत संरचना हटाउने भन्दै महानगर प्रहरी डोजर लिएर पुगेको थियो । नगरप्रहरी पुग्नासाथ स्थानीय भेला भएर आफूहरूसँग कुनै समन्वय नगरी महानगरपालिकाले खोतल्न लागेको भन्दै दुवै पक्षबीच झडप भएको हो ।

काठमाडौं महानगर प्रहरीले बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार समेत गरेको छ । बूढानीलकण्ठ र महानगरका बासिन्दाबीच दोहोरो झडपको अवस्था आएपछि प्रहरीले महानगरको डोजरको चाबी खोसेर वार्ताको पहल गरेको थियो ।

डोजरमा अवरोध गर्दा महानगर प्रहरीले बूढानीलकण्ठ नगरपालिका १० का वडाध्यक्ष नवराज भट्टराई र वडा सदस्य रिता दाहालमाथि दुर्व्यवहार गरेका थिए । झडप भएको स्थान कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो ।