जनकपुर, साउन २८। नेकपा एमाले मधेश प्रदेश कमिटीले पार्टीका ३० हजार सदस्यलाई एकैदिन शपथ खुवाउने भएको छ ।
पार्टी मधेश प्रदेश संगठन र आर्थिक विभागको पार्टी कार्यालय जनकपुरमा सम्पन्न बैठकले नयाँ संगठित गरिएका ३० हजार सदस्यलाई एकै दिन शपथ ग्रहण गराउने निर्णय गरेको हो ।
बैठकमा ३० हजार नयाँ सदस्यहरुलाई प्रदेश निर्वाचन क्षेत्र स्तरमा ६४ स्थानमा आयोजना गरिने शपथ ग्रहण कार्यक्रममा शपथ खुवाउने निर्णय भएको छ ।
पार्टीका मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्ययतामा भएको बैठकले आगामी असोज ५ र ६ गते आयोजना हुने पार्टीको प्रदेश अधिवेशनको तयारीका लागि विभिन्न कार्य योजना बनाएको छ । बैठकले अधिवेशनको प्रयोजनका लागि संगठित सदस्यताको प्रमाणीकरण श्रावण मसान्तभित्रमा संगठन विभागबाट गराउने र प्रमाणीकरण भएका सदस्यले मात्र प्रतिनिधि चुनिने र चुन्ने अधिकार प्रयोग गर्न पाउने निर्णय गरेको छ ।
बैठकले प्रदेश अधिवेशनका लागि प्रतिनिधिको छनौट एकै दिन भदौ २६ गते गर्ने निर्णय गरेको छ । प्रतिनिधि छनौट गर्दा समावेशीको साथै ३० वर्ष मुनिका युवालाई प्राथमिकता दिने प्रस्ताव बैठकले गरेको छ ।
प्रतिनिधि छनौट गर्दा निष्पक्ष, सहभागितामूलक र लोकतान्त्रिक विधिबाट गर्ने निर्णय भएको छ । यसका लागि प्रत्येक मतदान केन्द्रका लागि बुद्धिजीवीहरूको नेतृत्वमा निर्वाचन समिति गठन गरिने भएको छ । बैठकले आन्तरिक श्रोतको परिचालन गर्ने गरी बजेट प्रस्ताव गरेको छ ।













प्रतिक्रिया दिनुहोस्