जनता टाइम्स

२८ पुष २०८०, शनिबार १४:११

परराष्ट्रमन्त्री साउदले नविकरण रोकेपछि एनआरएनए अदालतको ढोकामा


काठमाडौं, २८ पुस । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयविरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीस नारायण प्रसाद रेग्मीको एकल इजालसले १५ दिनभित्र उच्च सरकारी वकिल कार्यलायमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो । परराष्ट्रमन्त्री एनपी साउदले नवीकरण प्रक्रिया रोकेपछि संघले अदालतमा रिट दायर गरेको थियो ।

अदालतले २५ पुषभित्र लिखित जवाफ दिन परराष्ट्रलाई आदेश दिएको हो । यस्तै, यो रिटमा अदालतले अग्राधिकार प्रदान गरेको छ । एनआरएनए आधिकारिक रुपमा २०७० कात्तिक ४ गते परराष्ट्र मन्त्रालयमा दर्ता भएको थियो । हरेक १० वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । गत कात्तिकमा १० वर्ष पूरा भइसकेको छ । संघको गत अक्टोबरमा सम्पन्न एघारौं महाधिवेशनबाट डा. बद्री केसीको नेतृत्वमा नयाँ कार्यासमिति चयन भएको थियो ।

नवीकरण गर्ने समय भए पछि संघले मन्त्रालयमा निवेदन गरेको थियो। तर, परराष्ट्रमन्त्रीको दबाबमा फाइल रोकिएको बताइएको छ । सबै प्रक्रिया पूरा गरेर नवीकरणका लागि निवेदन दिए पनि बिनाकारण फाइल रोकिएको संघका पदाधिकारीले गुनासो गर्दै आएका छन् ।

गत महाधिवेशनबाट नेतृत्वमा उपविजेता बनेका कतारका राजेन्द्र कुमार शर्मा (आरके), महेश श्रेष्ठलगायतका पराजित केही उम्मेदवारहरूले चुनावमा धाँधली भएको बाहना देखाउँदै प्रधानमन्त्री र परराष्ट्रमन्त्री समक्ष निर्वाचन प्रक्रिया रद्द गर्न माग गर्नुभएको थियो । त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआइबीलाई छानबिन गर्न निर्देशन दिनुभएको थियो ।

सीआइबीले तयार पारेको रिपोर्ट अहिलेसम्म आधिकारिक रुपमा सार्वजानिक भएको छैन । नवीकरण रोकेपछि संघ अदालतको साहरा लिएको हो । परराष्ट्रमन्त्री साउदले भने एनआरएनएभित्र देखिएको विवाद मिलाउन आफूले पहल गरिरहेको बताउँदै आउनुभएाके छ । साउदले पुष ८ गते मन्त्रालयमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेलाई बोलाएर छलफल समेत गर्नुभएको थियो ।