यो कदमले पुन: एकपटक नेपालका कम्युनिष्ट क्रान्तिकारीहरू एक ठाउँमा आउने, ‘समृध्द नेपाल र सुखी नेपाली’को जनताको चाहनालाई पूरा गरेर समाजवादतर्फको यात्रा तय गर्ने एक सुन्दर अवसर प्राप्त भएको छ । भित्र सिसा राखिएको कार्टुनमा बाहिर लेखिएको हुन्छ-‘ह्यान्डल विथ केयर । नेपालको राजनीति र खासगरि वाम राजनीति त्यस्तै हालतमा छ । यो गठबन्धन बनाउने की मेकर नेताहरूलाई यति भनौं-‘ह्यान्डल विथ केयर !’
निर्मल भट्टराई
नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष के पी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको लामो छलफलबाट नेपालको राजनीतिक सत्तालाई पूँजीवादी-प्रतिक्रियावादी चङ्गुलबाट निकाल्ने प्रयास सफल भएको छ । साविक नेकपामा आएको विभाजनले लयमा फर्कन लागेको देशको विकास र समृध्दिमा गम्भीर कुठाराघात भएको थियो। वास्तवमा विगतको विभाजन नेपालको कम्युनिष्ट आन्दोलनको एक विश्मयकारी घटनामात्र थिएन,समाजवादतिरको नेपालको यात्रामा अकल्पनीय अवरोध थियो।
नेकपा (एमाले) र माओवादीबीच भएको पछिल्लो सहमति ठूलै हण्डर र ठक्कर खाएपछिको सहमति हो । विगतको एकताबाट प्राप्त जनताको अपार समर्थन र त्यो समर्थनअनुरूपको व्यवहार नेतृत्वले नदेखाउँदा देशी-विदेशी प्रतिक्रियावादी शक्तिको चलखेलको सिकार भइसकेपछिको सहमति हो । त्यसकारण यो परिपक्व सहमतिले देशमा सकारात्मक परिणाम लाउने अपेक्षा गर्न सकिन्छ।
नेकपा विभाजनपछिका वर्षहरू नेपाली श्रमजीवी वर्गका लागि पटक्कै सकारात्मक र हितकर भएनन् । देशको अर्थव्यवस्था तहसनहस र भताभुङ्गमात्र भएन, के पी ओली सरकारले शुरू गरेका कैयौं जनपक्षीय र गरिबलक्षित कार्यक्रमहरूमाथि प्रहार भयो। तीव्र गतिमा सम्पन्न हुँदै गरेका विकास आयोजनाहरू अलपत्र पारियो। जनार्दन शर्माको अल्प ज्ञान र प्रकाशशरण महतको प्रतिक्रियावादी सोचको कोपभाजनमा देशको अर्थतन्त्र पर्यो । त्यही कारण जनतामा व्यापक निरासा उत्पन्न भयो। यो अवधिमा देशलाई सही तरिकाले सञ्चालन गर्ने दूरदृष्टि र असल नियतको व्यापक खडेरी देखापर्यो।
नेपाली कांग्रेसको पेलाइमा परेर होस् या नेपाली कांग्रेसले अबदेखि चुनावमा कसैसँग गठबन्धन नगर्ने लाइन उसको महासमितिले पास गरेपछि आगामी चुनावमा एक्लै परिने डरले होस् या साच्चै अन्तर्हृदयदेखि कम्युनिष्ट क्रान्तिकारीहरूको एकताको आवश्यकता बोध भएर होस् माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डमा गम्भीर रियलाइजेसन भएको देखिन्छ, जुन निकै सकारात्मक छ। पछिल्लो चरणमा आफू कसैबाट उपयोग हुन पुगेको समेत प्रचण्डको पछिल्लो अभिव्यक्तिले उहाँका पाइला अब पूँजीवादी मार्गतिर फर्कँदैनन् भन्ने सहज अनुमान गर्न सकिन्छ। सहमतिका पेटबोलीमा जे-जे भनिए पनि देश बनाउने एमालेको राजनीतिक तागत र भिजन तथा आफ्नो लास्ट इनिङ्मा देश र जनताको पक्षमा केही गरौं भन्ने प्रचण्डको चाहनाबीचको तादात्म्यता नै यो सहमतिको सार हो ।
भन्न परोइन, नेपालका कम्युनिष्टहरू मिल्दा एक आपसमा अचाक्ली माया-प्रेम गर्छन् । असमझदारी र बेमेल हुँदा एक अर्काको उछित्तो काड्छन् । एमाले-माओवादी एकतापछि प्रचण्डले भन्नुभयो-हामी फर्कने पुल भत्किसक्यो। तर एक-दुई वर्ष नवित्दै प्रतिक्रियावादीहरूले बनाइदिएको अस्थायी पुलबाट उतै फर्कनुभयो । हुनिबिघ्न सबै गर्नुभयो । फेरि अहिले पुरानो गठबन्धन भत्काउने क्रममा प्रचण्डले ‘कम्युनिष्ट क्रान्तिकारीहरूको एकताको प्रयास’ भन्नुभयो । एमालेले त्यसलाई अन्यथा मान्दैन, मानेन ।
विचारको हिसाबले, संगठनको हिसाबले, सामर्थ्यको हिसाबले नेकपा(एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । मूलप्रवाहमा कोही मिसिन पनि सहज हुन्छ र मूल प्रवाहबाट कहिलेकहीं सानातिना भङ्गाला फाट्न पनि सक्दछन् । यो वेगको नियम हो,वेगको विज्ञान हो । नेकपा(एमाले) यो विज्ञानलाई आत्मसात गरेरै यहाँसम्म आइपुगेको पार्टी हो । प्रधानमन्त्री प्रचण्डले यो राजनीतिक सहमतिलाई कम्युनिष्ट क्रान्तिकारीहरूको एकताकै तहमा लिनु भएको भए यो प्रशंसनीय कुरा हो । मुख्य कुरा व्यवहारको हो र यो व्यवहारमा कसरी अभिव्यक्त हुन्छ, हेर्न बाँकी छ।
०७४ मा एमाले-माओवादी गठबन्धन बनाएर ओली र प्रचण्डले धेरैलाई चकित मात्र बनाउनु भएन, जनताको करिब दुइ-तिहाइ समर्थन पाउन सफल हुनुभयो। अहिले नयाँ सत्ता गठबन्धन बनाउन उहाँहरूकै सार्थक, सतर्क र संयम कदमले परिणाम प्राप्त गर्यो । यो कदमले पुन: एकपटक नेपालका कम्युनिष्ट क्रान्तिकारीहरू एक ठाउँमा आउने, ‘समृध्द नेपाल र सुखी नेपाली’को जनताको चाहनालाई पूरा गरेर समाजवादतर्फको यात्रा तय गर्ने एक सुन्दर अवसर प्राप्त भएको छ ।
भित्र सिसा राखिएको कार्टुनमा बाहिर लेखिएको हुन्छ-‘ह्यान्डल विथ केयर । नेपालको राजनीति र खासगरि वाम राजनीति त्यस्तै हालतमा छ । यो गठबन्धन बनाउने की मेकर नेताहरूलाई यति भनौं-‘ह्यान्डल विथ केयर !’
प्रतिक्रिया दिनुहोस्